सबै प्रदेशमा आपतकालीन गोदामघर हस्तान्तणको तयारी हुँदैछ : गृहमन्त्री लेखक

सबै प्रदेशमा आपतकालीन गोदामघर हस्तान्तणको तयारी हुँदैछ : गृहमन्त्री लेखक


काठमाण्डु – गृहमन्त्री रमेश लेखकले मुलुकमा विगतको तुलनामा विपद् प्रतिकार्यमा आफ्नो क्षमता विकासमा प्रगति गरिरहेको बताएका छन् ।

बुधबार कीर्तिपुरमा आयोजित २७औं भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले खोज, उद्धार तथा राहतका क्षेत्रमा प्रशिक्षक र तालिमप्राप्त उद्धारकर्मीहरू तयार भएको जानकारी दिँदै सुरक्षा निकाय र प्रतिकार्यमा क्रियाशिल संस्थाहरूको व्यवस्थित परिचालन गर्न आवश्यक व्यवस्था गरिएको बताए ।

उनले विपद्को समयमा अत्यावश्यक सामग्रीहरूको भण्डारणलाई प्रभावकारी बनाउन आपतकालीन गोदामघर सञ्चालन सम्बन्धी कार्यविधि निर्माण गरी सबै प्रदेशमा आपतकालीन गोदामघर हस्तान्तरण गर्ने तयारी भइरहेको बताए ।

‘आगामी दिनहरूमा भूकम्प प्रतिरोधी संरचना निर्माणको अभियालाई थप प्रभावकारी बनाएर लगिनेछ,’ गृहमन्त्री लेखकले भने, ‘सरकारी निकाय, निजी क्षेत्र र गैरसरकारी संस्था लगायत समुदाय स्तरमा पूर्वतयारी, प्रतिकार्य र पुनर्निर्माण क्षमता अभिवृद्धि गर्ने कार्य गरिनेछ ।’

सचेतना बढाउन परम्परागतसँगै नयाँ प्रविधिहरूलाई अधिकतम प्रयोग गरिने उनको भनाइ थियो । जाजरकोट लगायतका भूकम्पबाट प्रभावित नागरिकका लागि अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ सहयोग गर्ने अस्थायी निर्माण सम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृत भई लागू भइसकेको मन्त्री लेखकले जानकारी दिए ।

‘स्थायी आवास निर्माण सम्बन्धी कार्यविधि कार्यसमितिको बैठकबाट पारित भइसकेको छ,’ उनले भने, ‘जाजरकोट भूकम्पबाट भएको क्षतिको आकलन यसै महिनाबाट प्रारम्भ गरिनेछ ।’