पोखरा – गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीचको सम्बन्धमा कुनै समस्या नरहेको बताएका छन् ।
नेपाल प्रेस युनियन कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यकममा उनले दल एवं सत्ता साझेदारीमा कुनै समस्या नभएको भन्दै सरकार पनि नढल्ने स्पष्ट पारेका हुन् ।
सरकार सहमतिका साथ नै अघि बढिरहेको भन्दै उनले भने, ‘साथीहरूले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छ ।’
पछिल्ला समयमा संविधानका साथै संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी गतिविधिहरू देखा परिरहेको बताउँदै उनले संविधान विरोधी एवं लोकतन्त्र विरोधी गतिविधि जनताले नरोज्ने स्पष्ट पारे ।
लोकतन्त्रमा स्वतन्त्र प्रेस तथा सञ्चारमाध्यम रहने उल्लेख गर्दै लोकतन्त्र विरोधीहरूको पहिलो प्रहार नै सञ्चारमाध्यममाथि हुने गरेको हामीले विगतमा भोगिसकेको उल्लेख गरे । अघिल्लो पुस्ताका साथै वर्तमान पुस्ताको अथक प्रयासबाट वर्तमान संविधान बनेको उल्लेख गर्दै उनले यसको रक्षा गर्नु सबैको कर्तव्य भएको बताए ।
नेपालमा ७ दशकको अन्तरालमा ७ वटा संविधान बन्नुले अस्थिरतालाई देखाउने बताउँदै उनले वर्तमान संविधानलाई पनि अन्त्य गरी मुलुकलाई पुनः अँध्यारोतर्फ धकेल्न नदिइने उनले बताए । लोकतन्त्रमा कमी–कमजोरीलाई पनि सुधार गर्दै जान सकिने बताउँदै उनले यसमा नागरिक सर्वोपरि हुने स्पष्ट पारे ।
संविधान विरोधी गतिविधिका माध्यमबाट अराजकता, वितण्डा मच्चाउन खोज्ने प्रवृत्तिलाई राजनीतिक रूपमा जवाफ दिनुका साथै कानून बमोजिम पनि अघि बढिने उनले बताए ।
आमाको नाममा नागरिकता प्रदान गर्ने सम्बन्धमा विधेयक अघि बढाइसकिएको बताउँदै उनले समस्या चाँडै नै समाधान हुने विश्वास व्यक्त गरे । आफूले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेयताको ९ महिनाको अवधिमा कानूनी एवं नीतिगत व्यवस्थालाई प्रभावकारी बनाउनेतर्फ लागेको उनले जानकारी दिए ।
आवश्यक विभिन्न कानूनहरू संसद्मा प्रस्तुत हुने गरी तयारी भएको उनले जानकारी दिए । अपराध नियन्त्रण, लागूऔषध, आत्महत्या, साइबर अपराध जस्ता विभिन्न चुनौतीको सामना गर्ने कुरामा सरकार दृढ रूपमा अघि बढेको उनले जानकारी दिए ।
गभर्नर नियुक्ति लगायतका विषयमा समस्या नरहेको भन्दै उनले सही व्यक्तिलाई सही स्थानमा ल्याइने बताए । शिक्षककका मागलाई सम्बोधन गर्ने सम्बन्धमा सरकार प्रतिबद्ध रहेको उनले बताए ।
प्रतिक्रिया