सहिद मुकेश कायस्थको परिवारलाई सुविधा दिलाउने गृहमन्त्री लेखकको प्रतिबद्धता

सहिद मुकेश कायस्थको परिवारलाई सुविधा दिलाउने गृहमन्त्री लेखकको प्रतिबद्धता


काठमाण्डु – गृहमन्त्री रमेश लेखकले सहिद मुकेश कायस्थको परिवारले राज्यबाट पाउनुपर्ने सुविधा दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधबार गृह मन्त्रालयमा भेट्न पुगेकी महेशकी आमा मिरा कायस्थसँग गृहमन्त्री लेखकले सुविधाबारे प्रतिबद्धता व्यक्त गरेकी छन् ।

‘संघीय लोकतन्त्रिक गणतन्त्र स्थापनामा सहिद मुकेश कायस्थको योगदान छ । राज्यबाट पाउने सुविधा दिलाउने मेरो प्रतिबद्धता भयो । म यसमा लाग्छु,’ गृहमन्त्री लेखकले भने ।

दोस्रो जनआन्दोलन (२०६२–६३) का घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको गत वर्ष वैशाख २७ गते निधन भएको थियो । तत्कालीन सरकारले जेठ २ गते मकेशलाई सहिद घोषणा पनि गरेको थियो । तर राज्यबाट सहिद परिवारले पाउने सुविधा आफूले नपाएको मुकेशकी आमा मिराको भनाइ छ ।

गृहमन्त्री लेखकसँगको भेटमा उनले भनिन्, ‘बाबु सहिद भएपछि राज्यबाट पाउनुपर्ने सुविधा पाएको छैन । राज्यबाट पाउनुपर्ने सबै सुविधा पाउनुपर्‍यो ।’

सहिद घोषणा राजपत्रमा प्रकाशित हँुदा मृत्यु भएको मिति नमिलेपछि सुविधा पाउनबाट १ वर्षदेखि मुकेशको परिवार वञ्चित छ । ‘राजपत्रमा मृत्यु भएको गते मिलेको छैन । मन्त्रीज्यूले त्यो सच्याएर सुविधा पाउने व्यवस्था मिलाउँछु भन्नुभएको छ,’ मिराले भनिन् ।

यसअघि रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री आफ्नो समस्या राखे पनि सम्बोधन नभएको उनको भनाइ थियो । ‘अहिले मन्त्रीज्यूले मन्त्रिपरिषद्मा लिएर हाम्रो माग सम्बोधन गर्छु भन्नुभएको छ । प्रधानमन्त्रीज्यूसँग पनि कुरा गर्छु भन्नुभयो छ । अब माग सम्बोधन हुने आशा राखेकी छु,’ उनले भनिन् ।

सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, १ सुसारेका लागि ६ हजार २०० भत्ता र १ नर्स नियमित उपलब्ध गराउँदै आएको थियो ।

मुकेशलाई २०७८ सालमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयोजक रहेको लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्यांकन गर्दै ‘लोकतन्त्रका योद्धा’ सम्मान प्रदान गरेको थियो ।