विपद्‍मा देखियो गृहमन्त्री लेखकको अक्षमता, कर्मचारी हटाएर चोख्खिने सुरसार

विपद्‍मा देखियो गृहमन्त्री लेखकको अक्षमता, कर्मचारी हटाएर चोख्खिने सुरसार


काठमाण्डु – सोमबार मध्यान्हसम्मको तथ्यांकअनुसार शुक्रबार र शनिबार आएको अविरल वर्षापछि आएको बाढी र पहिरोबाट १९३ जनाको मृत्यु भएको छ भने ३१ वेपत्ता भएका छन् । ९६ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार अहिलेसम्म तीन हजार ७ सय ५ भन्दा बढीको उद्धार भएको छ ।

बाढी र पहिरोले धेरै क्षति काठमाण्डौं उपत्यका र उपत्यकासँग जोडिएका धादिङ, काभ्रे, सिन्धुपाल्चोकलगायतका जिल्लामा गर्‍यो ।

मुख्य क्षति काभ्रे र धादिङमा भएको गृह मन्त्रालय मातहतका सुरक्षा निकायहरूले तयार पारेको तथ्यांकमा देखिन्छ । धादिङको झ्याप्लेखोला र काभ्रेको रोशीखोलामा ठूलो जनधनको क्षति भयो ।

गृह मन्त्रालयले मौसम विज्ञान विभागले ठूलो वर्षात् हुने बताइरहँदा पनि मुख्य सडकमा सवारी साधन चल्न नरोकेको भन्दै गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरीय निर्णयबाट धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीहरूलाई मन्त्रालयमा जगेडामा तानेर त्यहाँ नयाँ प्रमुख जिल्ला अधिकारीहरू पठाएका छन् ।

धादिङका राजेन्द्रदेव पाण्डे र काभ्रेका सूर्यप्रसाद सेढाईलाई मन्त्रालय तानेर धादिङमा सुमन घिमिरे र काभ्रेमा उमेश ढकाललाई नयाँ प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । यी चारै जना सहसचिव हुन् । सहसचिवको सरुवा मन्त्रीस्तरीय निर्णयबाट हुने कानुनी व्यवस्था छ ।

यतीमात्रै होइन, गृहमन्त्री लेखकको निर्देशनमा प्रहरी प्रधान कार्यालयले धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम के.सी.लाई फिर्ता बोलाएर प्रहरी उपरीक्षक दीपेन्द्र शाहीलाई पठाइएको छ ।

नागरिक प्राकृतिक विपत्तिमा छटपटाइरहेका बेलामा गृह मन्त्रालयले यतिसम्म नालायकीपन देखायो कि ललितपुरको भैंसेपाटीस्थित मन्त्री आवास क्षेत्रबाट नजिकै नख्खुखोलाले घेरेपछि टिनको छाप्रामाथि चढेर पाँच जनाले उद्धारका लागि गुहार माग्दा सरकारी संयन्त्र पुग्न सकेन । त्यति समयसम्म पनि सरकारको उपस्थिति त्यहाँ हुन नसक्दा उनीहरू चढेको टिनको छाप्रो नख्खुखोलामा आएको बाढीले बगायो ।

उनीहरूलाई खोलाले बगाइसक्दा मन्त्री लेखक गृह मन्त्रालयमा पत्रकारहरूसँग ‘भिजिबिलिटी’ पुग्न नसकेर हेलिकोप्टरबाट उद्धार गर्न नसकिएको बताउँदै थिए । त्यहीँ बेलामा खोलामा बगेकामध्ये दुई जनालाई काभ्रेका चणिकलाल तामाङले एक्लै जोखिम मोलेर उद्धार गरे । एक जना आफैं पौडेर बचे । अरू दुई जना अझै बेपत्ता छन् ।

के तालिम बिनाको व्यक्ति एक्लै बाढीमा पसेर बचाउन सक्छ भने विपद्मा के गर्ने भनेर राज्यको करोडौँ बजेटमा तालिम गरेका सुरक्षा निकायमा कार्यरतहरूले त्यो काम गर्न सक्दैन थिए । पक्कै पनि सक्ने थिए ।

तर, गृह मन्त्रालयले हेलिकोप्टरमा रेस्क्यू गर्ने भन्यो तर बेलैमा त्यसका लागि समन्वय गर्न सकेन । त्यही भएर त अहिले लेखककै मन्त्रिपरिषद्मै रहेका मन्त्रीहरूले व्यङ्ग्य गर्दै भन्छन्, ‘ हेलिकोप्टरको नभएर सरकारकै ‘भिजिबिलिटी’ पुगेन ।’

निकटस्थ स्रोतका अनुसार लेखक र उनले गृह मन्त्रालयमा राखेको सुरक्षा महाशाखामा रहेको सम्यन्त्रले बेलैमा समन्वय गर्न नसक्दा विपद्मा उद्धारका लागि भनेर नेपाली सेनाले तम्तयार अवस्थामा राखेको हेलिकोप्टर पठाइदिएन । त्यसपछि बाहना बनाउन मन्त्री लेखकले ‘भिजिबिलिटी’ पुगेन भनेर बाहिर भने ।

मन्त्री लेखकले समन्वय गर्न नसकेको भन्दै आइतबारको सर्वदलीय बैठकमा पनि आलोचना भयो । उनकै पार्टी नेपाली कांग्रेसको कार्य सम्पादन समिति र संसदीय दलको बैठकमा पनि पनि आलोचना भयो । पार्टी बैठकमा लेखकले स्रोत साधन नभएकाले गर्नुपर्ने जति उद्धारको काम गर्न नसकिएको नालायकी जवाफ दिए ।

जबकी गृह मन्त्रालय र विपद् प्राधिकरण विपद् कोषको नै व्यवस्था छ । त्यो कोषमा भूकम्पका बेलादेखिको रकम थुप्रिएर बसेको छ ।

गृह मन्त्रालयमा कार्यरत एक सहसचिवले विपद्मा आवश्यक पर्ने स्रोत साधनको कमी नभएको तर, मन्त्री लेखकले समयमै निर्देशन, निर्णय र समन्वय गर्न नसक्दा समस्या भएको बताए । ‘मन्त्रीज्यू कानुनको कुरा गर्नुहुन्छ, निर्णय गर्दा ढिलाइ गर्नुहुन्छ । गृहमा पहिला एक्सन लिने, उद्धार गर्ने, तत्कालको पुनस्र्थापना गर्ने पछि निर्णय गर्दै जाने हो,’ ती सहसचिवले भने, ‘उहाँले कार्यशैली नसुधार्ने हो भने गृह चलाउन नसक्ने देखियो ।’

धेरै कर्मचारीले विपद्का घटनामा पहिला उद्धारमा लागौँ भन्दा निर्णय गरेर मात्रै काम सुरु गर्ने भनेपछि धेरै क्षति हुन गएको पनि ती सहसचिव बताउँछन् । मन्त्री लेखकले मन्त्रालयमा जिम्मेवारी दिएका सहसचिवहरू गृहको अनुभव नभएका भएकाले पनि समस्या देखिएको कर्मचारीहरू बताउँछन् ।

गृहमन्त्री लेखक भने सरकारले गरेको तयारीकै कारण बाढी, पहिरो र डुबानको क्षति न्यूनीकरणमा सहयोग पुगेको बताउँदै हिडेका छन् । ‘उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिएको छ । बालबालिका, सुत्केरी, अपांगता भएका व्यक्ति, वृद्धलाई प्राथमिकता दिएर उद्धार गर्न निर्देशन दिइएको छ । उद्धारका लागि जिल्लादेखि केन्द्रसम्मै हटलाइन व्यवस्था गरिएको छ,’ उनले भने ।

लेखककै पार्टी कांग्रेसमा पनि काम गर्न नसकेको भन्दै आलोचना मात्रै होइन ठाँउ खाली गर्नुपर्ने आवाज उठेको छ । सत्ता सहयात्री दलहरूले पनि लेखकले मन्त्रालयको कमाण्ड सम्हाल्न नसकेको भन्दै सर्वलीय बैठकमा आलोचना गरे । विपक्षीहरू र नागरिकले उनीबाट गृह मन्त्रालय नचल्ने निष्कर्ष निकालीसकेका छन् ।

त्यही आलोचनाबाट बच्न मन्त्री लेखकले कर्मचारी र प्रहरीका जिल्ला प्रमुखको सरुवा गरेका छन् । निर्देशन उपयुक्त नदिने र निर्देशन मान्नेलाई सरुवा गरेर आफू उम्किन खोज्ने गृहमन्त्री लेखकलाई के भन्ने ?