काठमाण्डु – राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकलाई सत्तारुढ दलका सांसदहरूको प्रश्न थेग्नै हम्मेहम्मे भएको छ । मंगलबार सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरूको प्रश्न थेग्नै गृहमन्त्री लेखकलाई हम्मेहम्मे परेको हो ।
नेपाली कांग्रेसका नेता गृहमन्त्री लेखकलाई कांग्रेस र एमाले कै सांसदहरूले प्रश्न सोधेर र्याखर्याख्ती पारेका थिए ।
सरकारको नेतृत्व गरेको नेकपा एमालेका सांसद रघुजी पन्तले विपदपछिको उद्धार र राहतमा प्रश्न उठाए । उनले सरकारले तयरी अवस्थामा छौँ भने पनि त्यस्तो नदेखिएको बताए ।
‘तयारी अवस्थामा छौँ भने पनि साधन स्रोत पर्याप्त देखिएन, तयारी देखिएन । आपतकालीन अवस्थामा दसैँसम्म उडानको भाडा बढाउन भएन,’ सांसद पन्तले भने । पन्तले विपदको समयमा निजी हेलिकोप्टर प्रयोग गर्न सक्ने विकल्पबारे सरकारले सोच्दै नसोचेको बताए ।
कांग्रेस महामन्त्रीसमेत रहेका सांसद गगन थापाले विपद्को समयमा सरकार गम्भीर बन्न नसकेको भन्दै प्रश्न उठाए । ‘सरकारले विपद्लाई गम्भीर रूपमा लिएन । प्रहरी प्रमुख, मुख्यसचिवको रात्रिबस नचलाउने भनेर निर्णय भयो भन्नुहुन्छ । रात्रीबस चलिरहेको देखियो । कसै न कसैले यसको जिम्मेवारी लिनुपर्ने हो,’ थापाले भने, ‘नख्खुमा देखिएको घटनाको जिम्मा कसले लिने हो ? कसै न कसैले जिम्मा लिनुपर्छ ।
कांग्रेस सांसद दिलेन्द्र बडुले फेरि पनि पानी पर्ने सम्भावना भएकाले पहिलाजस्तै हेलचक्रयाईं नगरइ सावधानी अपनाउन सचेत गराए । ‘बुधबारबाट पानी पर्छ भन्ने पूर्वानुमान छ । काठमाडौंबाट बाहिर जान बन्द गर्नुस् । रिसाउँछन् भने तपाईंको सुरक्षाको लागि हो भन्नुस्’ बडूले भने ।
सांसद सरिता प्रसाईंले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै भनिन्, ‘दसैँभर हवाई भाडा यथावत रहनुपर्यो । जिम्मेवार व्यक्ति संवेदनशील भएर बोल्ने हो कि ? देशको अभिभावक होइन प्रधानमन्त्री यसरी बोल्ने ? मल्हम पट्टी लगाउने होला नि ।’
सत्तारुढ दल लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्लाले विपदबारे पूर्वजानकारी हुँदाहुँदै त्यसको व्यवस्थापनमा सरकार चुकेको बताए । ‘विपद् अपर्झट आएको होइन । साइरन बजाउँदै सूचना दिएर आएको हो । सरकारी निर्देशन पालना भएको छैन । तीन तहको सरकारको संयोजनको संयन्त्र बनाउन्पर्छ भनेको अहिलेसम्म भएको छैन ।’
सांसदहरूले कार्यवाहक प्रधानमन्त्री रहेका प्रकाशमान सिंह र गृहमन्त्री लेखकले विपदको समयमा चुस्त व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना गरे ।
सांसद चित्रबहादुर केसीले काठमाडौं उपत्यकाभित्रै ४ घण्टा गुहार माग्दा पनि उद्दार हुन नसक्ने किन भयो ? भन्दै प्रश्न गरेका थिए । विपदको समयमा हवाई भाडा उच्च पारिएको भन्दै त्यसको पनि नियमनमा सरकार निरीहर बनेको आरोप लगाए ।
सांसद राजेन्द्र पाण्डेले सरकारले रात्रिबस नचलाउन भने पनि त्यसमा कडाइ गर्न नसक्दा दुःखद घटना भएको भन्दै गृहमन्त्रीको आलोचना गरे ।
सांसद बुद्धिमान तामाङले सरकारले निर्देशन दिए पनि तल्लो निकायबाट सुनुवाइ नभएको बताए । योजनाको प्रभावकारी कार्यान्वयन गर्न गृहमन्त्री चुकेको भन्दै तामाङले असन्तुष्टि पोखे ।
जसपा नेपालका सांसद प्रकाश अधिकारीले काठमाडौं उपत्यकामा भिजिबिलिटी पुगेन भनेर कसैले नपत्याउने बताए । काठमाडौंकै नागरिकले ४ घण्टासम्म गुहार माग्दा पनि राज्यले बचाउन नसकेको आरोप उनको थियो ।
रास्वपाका सभापति रवि लामिछानेले गृहमन्त्री लेखकले स्रोतसाधनको अभाव हो कि भएको स्रोत साधनको परिचालन गर्न सक्नुभएन ? भन्दै प्रश्न गरे ।
सांसदहरूका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले बैठकमा बाढीपहिरोमा परेर बेपत्ता भएकाहरू नभेटिए १० दिनपछि मृतकसरह पीडित परिवारलाई राहत उपलब्ध गराउने बताएका थिए । उनले विपद् व्यवस्थापन प्राधिकरणको बैठकबाट मृतकका परिवारलाई राहत स्वरुप दुई लाख रुपैयाँ दिने निर्णय भएको जानकारी दिए । बेपत्ता भएका नभेटिए १० दिनपछि मृतकसरह पीडित परिवारलाई राहत उपलब्ध लेखकले जानकारी दिए ।
बाढीपहिरोमा फसेकाहरूको उद्धार गर्न सरकार नचुकेको लेखकले दाबी गरे । ‘बाढीपहिरोमा फसेकाहरूको उद्धारमा सरकारको उपस्थिति भएन र गर्न सकेन भन्ने होइन । ललितपुरको नख्खुमा उद्धार गर्न गएका सशस्त्र प्रहरीलाई नै उद्धार गर्नुपर्ने अवस्था बन्यो,’ लेखकले भने, ‘प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना उद्धारका लागि खटिएका थिए । सरकारको उपस्थिति नभएको भन्ने होइन, सरकारले कोसिस गरेको हो ।’
लेखकले बाढीपहिरो पीडितको राहतमा कमी हुन नदिइने बताए । तर, गृहमन्त्रीको जवाफमा सांसदहरूले चित्त बुझाएनन् ।
समितिले बीचबाटोमा अलपत्र परेका यात्रुहरूलाई तत्काल गन्तव्यमा पुर्याउन निर्देशन दिएको छ ।
प्रतिक्रिया