सबै संयन्त्रलाई हाइअलर्ट रहन गृहमन्त्रीको निर्देशन

सबै संयन्त्रलाई हाइअलर्ट रहन गृहमन्त्रीको निर्देशन


काठमाण्डु-गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अनुसार हाइअलर्ट रहन निर्देशन दिएका छन् ।

गृहमन्त्री लेखकले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आम नागरिकलाई सावधानी अपनाउन पनि आग्रह गरेका छन् ।

सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा संयन्त्र, र स्थानीय तहलाई मन्त्री लेखकले वर्षाको पूर्वानुमान गरिएअनुसार अलर्ट रहन निर्देशन दिएको जनाएका छन् ।

थप समन्यव र सो सम्बन्धी आवश्यक काम कारवाहीका लागि गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुख र विपद् प्राधिकरण तयारी अवस्थामा रहन निर्देशन दिएको गृहमन्त्री लेखकले बताएका हुन् ।

मन्त्री लेखकले यसअघिको बाढी र पहिरोले मुलुकक धेरै राजमार्ग अवरुद्ध रहनुका साथै पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन पनि सबैमा आग्रह गरेका छन् ।