बाढीपहिरो प्रभावित क्षेत्रमा तीव्ररूपमा राहत वितरण भइरहेको छ : गृहमन्त्री लेखक

बाढीपहिरो प्रभावित क्षेत्रमा तीव्ररूपमा राहत वितरण भइरहेको छ : गृहमन्त्री लेखक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री रमेश लेखकले गत असोज १० देखि १३ गतेसम्म भएको भारी वर्षाले निम्त्याएको बाढीपहिरो प्रभावितको उद्धार सकिएर राहतको काम भइरहेको बताएका छन् ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको १४औं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा गृहमन्त्री लेखकले बाढीपहिरो प्रभावित क्षेत्रमा तीव्रताका साथ राहत वितरणको काम भइरहेको बताए ।

बाढीपहिरो प्रभावित २० जिल्लाका ७१ पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको भन्दै उनले पालिकामा तत्काल राहतको प्याकेज घोषणा गरिएको उनले बताए । उनका अनुसार बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्यकारी समितिको बैठकबाट अति क्षति भएको पालिकालाई १ करोड, मध्य क्षति भएका पालिकालाई ७५ लाख र कम क्षति भएको पालिकालाई ५० लाख दिने निर्णय भएको छ ।

असोज दोस्रो हप्ताअघि भएको विपद्ले निम्त्याएको घटनामा पुनःस्थापना र पुनर्निर्माणको काम भइरहेको उनको भनाइ छ । ‘१ वर्षयताका विपद्का घटनाको सम्बोधन हुने गरी निर्णय गर्न आवश्यक छ । पुनःस्थापना र पुनर्निर्माणमा जाजरकोट भूकम्पदेखिकै विषयलाई समेट्नुपर्छ,’ गृहमन्त्री लेखकले भने ।

विपद्मा सीमित स्रोतसाधनका बाबजुद नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले राम्रो काम गरेको भन्दै गृहमन्त्री लेखकले थप स्रोतसाधनको आवश्यकता औंल्याए ।

उनले विपद् प्राधिकरणलाई सातै प्रदेशमा स्थापना गर्नुपर्नेमा उनले जोड दिए । बैठकमा असोज दोस्रो हप्ता आएको विपत्तिमा नेतृत्वदायी भूमिका खेलेको भन्दै भौतिक पूर्वाधारमन्त्री, स्वास्थ्यमन्त्री, खानेपानीमन्त्री लगायतले गृहमन्त्री लेखकको प्रशंसा गरेका थिए ।

गृहमन्त्री लेखकको समन्वयकारी भूमिकाले अवरुद्ध सडक र खानेपानी सञ्चालनमा ल्याउन तथा घाइतेको निःशुल्क उपचार गराउन सहज भएको मन्त्रीहरूको भनाइ थियो ।