महेन्द्रनगर – गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताएका छन् ।
बुधबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प अरु कुनै व्यवस्था हुन नसक्ने बताए ।
लोकतन्त्रमा जनताका अधिकारहरूको सुरक्षा गर्ने र स्वतन्त्रता प्रदान गर्ने जनताको व्यवस्था भएकाले अहिलेको शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै यसैमा जनताको विश्वास र भरोसा जगाउनुपर्ने उनले बताए । मुलुकमा ३/३ महिनामा संसद्मा प्रधानमन्त्रीले विश्वासको मत लिइराख्नुपर्ने अवस्था सिर्जना भएकाले संसद्का २ ठूला दल मिलेर सरकार बनेको उनले बताए ।
उनले जनजीविकाको सवाल र मुलुकमा आर्थिक उन्नति गर्ने सवालमा सरकार क्रियाशील भएर लागेको बताए ।
देशमा विधिको शासन कायम गर्न सरकार पूर्ण रूपले लागिपरेको उनको भनाई थियो । उनले पछिल्लो सयम अपराधजन्य घटनाहरू वृद्धि भइरहेको बताए । ‘लागूऔषध अहिले सबैभन्दा ठूलो समस्याको रूपमा देखिएको छ, युवाहरू लागूऔषधका कारण अपराधजन्य क्रियाकलाप भइराखेका छन्, यी समस्याहरूलाई पनि गहिरो ढंगले अध्ययन गरेर अगाडि बढ्नुपर्ने अवस्था छ,’ उनले भने ।
कार्यक्रममा बोल्दै उनले सुशासन कायम राख्न र भ्रष्टाचार न्युनिकरण गर्न सरकारले अत्यन्तै मेहनतका साथ काम गरिराखेको बताए ।
प्रतिक्रिया