काठमाण्डु – गृहमन्त्री रमेश लेखकले सीमित स्रोत र साधनबीच परिणाममुखी काम गर्न मुलुकभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् ।
गृह मन्त्रालयले शुक्रबार आयोजना गरेको जिल्ला सुरक्षा समितिसितको भर्जुअल बैठकमा बोल्दै गृहमन्त्री लेखकले लागूऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण तथा सवारी दुर्घटना न्युनीकरण चुनौतीका रूपमा रहेको बताउँदै सीमितस्रोत साधनबीच पनि गम्भीर भएर काम गर्न निर्देशन दिए ।
‘अहिले चुनौतीका रूपमा देखापरेका ३ वटै विषय एकअर्कासित सम्बन्धित छन्,’ उनले भने, ‘त्यसको न्यूनीकरणका लागि प्रदेश र स्थानीय तहसित पनि समन्वय गरेर लाग्नुहोस् ।’
सीमामा हुने अपराध, चोरीशिकारी नियन्त्रण, भ्रष्टाचार न्युनीकरण र आर्थिक अनियमिततामा शून्य सहनशीलताको नीति अपनाउन आग्रह समेत गरे । मन्त्रालयले कानूनी, नीतिगत र संरचनात्मक सुधारका कामहरू अगाडि बढाएको बताउँदै मन्त्री लेखकले सोही अनुसार कामको गुणस्तर बढाएर जानुपर्नेमा जोड दिए ।
‘शान्ति सुरक्षाको गम्भीर जिम्मेवारी हामीसित छ,’ उनले भने, ‘विकास, समृद्धि र लोकतन्त्रको दीर्घ जीवनका लागि शान्ति सुरक्षा हुनैपर्छ ।’
गृहसचिव गोकर्णमणि दुवाडीले नतिजा देखिने गरी काम गर्न निर्देशन दिए ।
सेवा प्रवाह प्रभावकारी बनाउन जोड दिँदै उनले गुनासोरहित सेवा प्रवाहमा ध्यान दिन जोड दिए । विपद् व्यवस्थापनका लागि पूर्वतयारी प्रभावकारी बनाउन गृहसचिव दुगाडीले निर्देशन दिए ।
‘सार्वजनिक सम्पत्तिको संरक्षण र अतिक्रमण हटाउने विषयमा पनि जोड दिएर लाग्नुहोस्,’ सचिव दुवाडीले भने, ‘जिम्मेवारी र दायरामा रहेर काम गर्नुपर्छ ।’
भर्चुअल बैठकमा सुरक्षा निकायका प्रमुख, गृह मन्त्रालयको विभिन्न महाशाखाका प्रमुख र देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित जिल्ला सुरक्षा समितिका पदाधिकारी सहभागी थिए ।
प्रतिक्रिया