प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेसले समर्थन गर्नसक्छ : रमेश लेखक

प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेसले समर्थन गर्नसक्छ : रमेश लेखक


काठमाडौं– नेपाली कांग्रेसका नेता रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएर अघि बढ्न आफूहरु तयार रहेको  बताएका छन्।

 

‘राजनीति भनेको सबै संभावनाको खेल हो, यहाँ सबै खाले संभावनाहरु जीवीत हुन्छन्, त्यसैले प्रचण्डलाई प्रधानमन्त्री बनाएर अघि बढ्न हामी तयार छौं,’ मंगलबार राजधानीमा अायाेजित एक कार्यक्रममा लेखकले भने।

 

 

नेता लेखकले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएको, प्रतिनिधि सभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक नभएको अवस्थामा अहिल्यै नै कसको नेतृत्वमा सरकार बन्छ भन्ने स्पष्ट भैईनसकेको समेत जिकिर गरे।

 

 

यद्धपी उनले जनताले वाम गठबन्धनको पक्षमा जनमत दिएकोले एमाले र माओवादीले सरकार बनाउँदा राम्रो हुने भन्दै आफूहरुको शुभकामना रहेको सुनाए ।

 

 

तर उनले एमाले र माओवादीबाहेकपनि सरकार बन्न सक्ने संभावना रहेको औंल्याए । उनले भने,‘निर्वाचनको सम्पूर्ण मतपरिणाम आओस्, अनि यो कुरा क्लियर हुन्छ।’

 

 

आफ्नो पार्टीले निर्वाचनमा व्यहोरेको पराजयको बारेमा तत्काल केन्द्रिय कार्यसमिति बैठक आह्वान गरेर व्यापक समिक्षा गरिनेपनि उनले जानकारी दिए । उनले भने,‘हामी सुक्ष्म ढंगले छलफल गर्छौं, र आवश्यक निर्णय लिन्छौं।’

 

 

उनले निर्वाचनमा कुनै एक नेताको कारणलेमात्रै पार्टी पराजित नभएको पनि दाबी गरे ।

 

 

उनले भने,‘कांग्रेसले विगतमा पनि सरकारको नेतृत्व गरेको बखत् निर्वाचनमा हार व्यहारेको छ, हार्नुको कारणको खोजी हुन्छ।’ लेखकले एक जना नेताको गुण र दोषको आधारमा निर्वाचन नहारेको भन्दै समग्रबारेमा समिक्षा गरिने जानकारी दिए ।