रामहरि खतिवडाले संसदीय समितिको दायरा नाघेका तीन घटना

रामहरि खतिवडाले संसदीय समितिको दायरा नाघेका तीन घटना


काठमाण्डु – राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रहेका नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पदको दायरा नाघेर तीन घटना घटाएका छन् ।

खतिवडाले संसदीय समितिको बैठकमा एनजीओको खाजा ल्याउने देखि लिएर आफ्नै पार्टी सभापतिलाई समेत छलेर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिनेगरी बैठक बोलाए ।

त्यतिमात्र होइन गत कात्तिकमा भूकम्प प्रभावित जाजरकोट, रुकुमलगायतका जिल्लामा संसदीय समितिको भ्रमणमा पनि खतिवडाले सांसदहरूलाई समितिको बजेटभन्दा बाहिरैबाट हवाई टिकटको व्यवस्था मिलाएर विवादमा आएका थिए ।

खतिवडाले २ असारमा संघीय निजामती सेवा विधेयकबारे विज्ञसँग छलफल गर्ने एजेन्डासहित बोलाएको बैठकमा गैरसरकारी संस्थाको खाजा पहिल्यै पुगेपछि विवादमा तानिएका हुन् ।

खाजाको विषयमा छलफल चलेपछि बैठकमा सहभागी उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने ‘यस्तो अवस्थामा बैठकमा बस्नै नसक्ने’ भन्दै बाहिरिएका थिए । लामिछाने बाहिरिएपछि अन्य सांसदहरू पनि बाहिरिएपछि बैठक स्थगित भएको थियो । लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीलगायतका विज्ञहरूसँग छलफल गर्ने तय भएको बैठक गृहमन्त्रीले बहिस्कार गरेपछि स्थगित हुन पुग्यो, जुन बहालवाला मन्त्रीले बैठक सुरु नै नभई छाडेको पहिलो घटना हुन सक्ने जानकारहरू बताउँछन् ।

बैठकमा नेसनल फोरम अफ पार्लियामेन्टेरियन अन पपुलेसन एन्ड डेभलपमेन्ट (एनएफपीपीडी) अभियानले खाजाको व्यवस्था गरेको बैठकमा सांसदहरूले खाजाको लगानीकर्ता खोजेपछि जानकारी आएको थियो ।

यसअघि खतिवडाको पार्टी नेपाली कांग्रेसले सहकारीको रकम अपचलन र हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै २ चैतदेखि १४ जेठसम्म संघीय संसद्का दुवै सदन चल्न दिएको थिएन । तर, त्यसैको बीचमा सभापति शेरबहादुर देउवालाईसमेत ढाटेर गत चैत १२ गते पत्र पठाइ १४ चैतको बैठकमा गृहमन्त्री लामिछानेलाई बोलाए ।

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न नदिने कांग्रेसको निर्णय उल्लंघन हुनेगरी समितिको बैठकमा बोलाएपछि खतिवडाको आलोचना पार्टीकै नेता तथा सांसदबाट भएको थियो । पछि उनले गृहमन्त्रीको नाम नै तोकेर पठाएको पत्र सार्वजनिक भएपछि पार्टी नेताहरू रुष्ट भएका थिए । पार्टीको रणनीतिविपरित समितिमा सभापति खतिवडाले काम गरेको भन्दै सभापति देउवाले मौखिक स्पष्टीकरण सोधेको निकटस्थ स्रोतले जानकारी दियो ।


खतिवडाको निर्देशनमा समितिले गृहमन्त्री लामिछानेलाई बोलाएर पठाएको पत्र

सभापति खतिवडाले त्यसभन्दा अघि पनि संसदीय समितिको मर्यादाविपरीत काम गरेका थिए । गत कात्तिकमा भूकम्प प्रभावित जाजरकोट, रुकुमलगायतका जिल्लामा संसदीय समितिको भ्रमणमा पनि खतिवडाले सांसदहरूलाई समितिको बजेटभन्दा बाहिरैबाट हवाई टिकटको व्यवस्था मिलाएका थिए ।

भूकम्प प्रभावित जिल्लामा भइरहेको राहत, उद्धार र उपचारको अवस्थाबारे बुझ्न राज्य व्यवस्था तथा सुशासन समितिको टोली कात्तिक २२ गते जाजरकोट र पश्चिम रुकुम गएको थियो ।

खतिवडाको नेतृत्वमा गएको ९ सदस्यीय टोलीमा सांसदहरू गगन थापा, विश्वप्रकाश शर्मा, हृदयराम थानी, कृष्णगोपाल श्रेष्ठ, रवि लामिछाने, बुद्धिमान तामाङ, सर्वेन्द्रनाथ शुक्ल, चित्रबहादुर केसी थिए ।

सभापति खतिवडाले जहाज तथा यातायात खर्चसमेत व्यक्तिगत तवरबाटै गरेको बताएका थिए । त्यो जानकारी सभामुख देवराज घिमिरेलाईसमेत दिएपछि त्यसमा पनि धेरैले आशंका व्यक्त गरेका थिए ।

सभामुख घिमिरेलाई भुकम्प प्रभावित क्षेत्रमा जाने समय र सांसदबारे जानकारी गराउँदै खतिवडा