डिभोर्सपछि रामकृष्णले भने : श्रीमती निलम हामीसँगै छिन् !

डिभोर्सपछि रामकृष्णले भने : श्रीमती निलम हामीसँगै छिन् !


काठमाडौं – पत्नी निलम शाहसँग सम्बन्ध विच्छेद गरेका गायक रामकृष्ण ढकालले श्रीमती परिवारसँगै रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस पोष्ट गर्दै उनले आफूहरु परिवारसँगै हाँसी खुशी सँगै रहेको बताएका हुन् । उनले भनेका छन्, ‘हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन । आशा छ तपाईहरुको माया रहिरहने छ ।’

सम्बन्ध विच्छेदको खबर बाहिरिएसँगै धेरैले सामाजिक सञ्जालमा गायक ढकालप्रति सहानुभूति प्रकट गरेका थिए । सामाजिक सञ्जालमा पत्नी निलमप्रति व्यक्त गरिएका अभिव्यक्तिको खण्डनसमेत गरेका छन् ।

उनले लेखेका छन्, ‘पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन् ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन् । त्यसैले समाचारलाई विश्वास गरी मेरो परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु । विशेष गरी मेरी श्रीमती निलमलाई जोडेर एक महिलाप्रतिको न्युनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरी प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्द्छु ।’

गायक ढकाल र शाह बीच २०५९ मंसिर १४ गते विवाह बन्धनमा बाँधिएका थिए । निलमले श्रीमानलाई पटक पटक विदेश जान र उतै बस्न समेत दवाव दिएको तर गायक ढकालले नमानेको अदालतमा बुझाएको निवेदनमा उल्लेख छ ।