पाल्पा – खानेपानीको चरम अभावका कारण माथागढी गाउँपालिका–५ गोठादी घारीगाउँका स्थानीयवासी गाउँ छाड्न बाध्य भएका छन् ।खानेपानी जोहो गर्न उनीहरु आफ्नो गाउँघर छाडेर पानी सुविधा भएको बस्तीमा बसाइँ सर्न थालेका छन् ।
यहाँका करीब ३०० घरपरिवार खानेपानीको सुविधा भएको क्षेत्रमा बसोबास गर्न पुगेका छन् । पाँच सय घरपरिवार रहेको यस बस्तीमा एकपछि अर्को गरी बसाइँ सरेर जाँदा अहिले गाउँमा झन्डै २०० घरपरिवार मात्र रहेका छन् । उनीहरु पनि खानेपानीको चरम अभाव र समस्या झेल्दै आएका छन् ।
वर्षौंदेखि खानेपानीको समस्याले सताइरहेको ७६ वर्षीय लालबहादुर सारुले बताए । पहिले डाँडाको बस्तीभन्दा तल पानीको स्रोत थियो तर त्यो स्रोत पनि सुक्दै गएपछि गाउँमा खानेपानीको हाहाकार मच्चिएको उनले बताए । एक गाग्री पानी लिन झण्डै दुई घण्टा पैदल हिँड्नुपर्छ ।
बस्तीभन्दा डेढ किलो मिटर तल सानो ट्याङ्की बाँधिएको छ, त्यो पनि अहिले जीर्ण हुदैं गएपछि पानी कम हुँदै गएको छ ।
बिहान उज्यालो हुन नपाउँदै गाग्री बोकेर पानी खोज्न जानुपर्ने समस्या वर्षेनी हुन्छ, अब त जनप्रतिनिधि गाउँमा आएका छन, केही हुन्छ कि भन्ने आशा पलाएको पार्वती सारुले बताईन् ।
यहाँ लिफ्टिङ प्रणालीबाट खानेपानीको सुविधा उपभोगका लागि पहिलो चरणमा विद्युत् पोल, ट्रान्सफर्मर, तार जडान, दोस्रो चरणमा पाइपलाइन विस्तार, ट्याङ्की निर्माण, धारा जडान र वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताए । कम लगानीमा खानेपानीको व्यवस्थापन गर्न सम्भव नभएकाले अर्को आर्थिक वर्षबाट दोस्रो चरणको कामको थालनी गरिने अध्यक्ष थापाले बताए ।
प्रतिक्रिया