रामराजा र गणतन्त्रको प्रतीकहरूबारे गन्थन

रामराजा र गणतन्त्रको प्रतीकहरूबारे गन्थन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रेक राजनीतिक व्यवस्थामा मनाइने राष्ट्रिय दिवस, उत्सव र समारोहहरू, दिवस र उत्सव मात्रै हुँदैनन्, देश र तत्कालीन व्यवस्थाको निम्ति गरिने संघर्षको इतिहास र व्यवस्थाको औचित्यको प्रतीकात्मक अवसर पनि हुने गर्छ ।

राणाहरूले उनको जहानियाँ भारदारी शासकीय वर्चस्व कायम गर्ने जङ्गबहादुर राणालाई प्रतीक बनाए ।

पञ्चायती राजतन्त्रमा शासकहरूले पृथ्वीनारायण शाह, त्रिभुवन वीरविक्रम शाह, गोर्खाली हिन्दु उच्चजातीय खस अहंकारवादी राष्ट्रवाद तथा राजाहरूको देवत्वकरण गरिएको दिवसहरूलाई प्रतीकको रूपमा जनतामा थोपरे ।

राजनीतिक पार्टीहरूले आ–आफ्ना राजनीतिक औचित्यताको दृष्टिले दिवस र समारोह मनाउनु बेग्लै कुरा भयो । तर राज्य सत्ताले मनाउने दिवसहरूमा संविधान दिवस बाहेक अन्य दिवसहरू गणतन्त्रको औचित्यता बाहेकका नै छन् ।

२०४७ सालको बहुदलीय आन्दोलन र त्यसपछिको संवैधानिक राजतन्त्रमा नेपाली कांग्रेसले २०३६सालमा जनमत संग्रह ताका बीपी कोइरालाका ‘राजा र मेरो घाँटी एउटै छ’ भन्ने धारणाहरूलाई प्रतीकको रूपमा अगाडी साारे । संवैधानिक राजतन्त्रलाई सर्वोत्तम व्यवस्थाको रूपमा प्रचारित पनि गरे कांग्रेसले । यसै तर्कमा (तत्कालीन अवस्थामा आफूलाई आलोचनात्मक भने पनि) एमाले र सदभावना पार्टीहरू संवैधानिक राजतन्त्रात्मक संसदमा सामेल भए । संवैधानिक बहुदलीय राजतन्त्रमा व्यवस्थाका दुई खम्बा थिए–राजा र राजनीतिक दल । त्यसैले प्रजातन्त्रको प्रतीकको रूपमा गंगालाल श्रेष्ठलगायत चारजना शहिदसँगै पृथ्वीनारायण शाह, त्रिभुवन समेतले निरन्तरता पाए । बरू पृथ्वीनारायण र त्रिभूवन शहिदहरूभन्दा बढी महत्वका थिए ।

यस दृष्टिले विचार गर्दा हामी एउटा बेहोस गणतन्त्रमा छौँ । राजनीतिक पार्टीहरूले आ–आफ्ना राजनीतिक औचित्यताको दृष्टिले दिवस र समारोह मनाउनु बेग्लै कुरा भयो । तर राज्य सत्ताले मनाउने दिवसहरूमा संविधान दिवस बाहेक अन्य दिवसहरू गणतन्त्रको औचित्यता बाहेकका नै छन् ।

२००७ सालको प्रजातन्त्र दिवस होस वा राष्ट्रिय एकता दिवसको नाममा मनाइने पृथ्वीनारायण शाहको स्मृति दिवस, सबै गणतन्त्रको औचित्यता भित्र पर्दैन । मेरो यस विचारबाट केहीलाई आपत्ति हुन सक्छ । तर यथार्थ के हो भने अहिलेको गणतान्त्रिक देशमा राष्ट्रिय एकताको प्रतीक नेपाली जनता हुन्, जसका सामूहिक अथक संघर्ष, शहादत र त्याग तपस्याबाट वर्तमान देश र व्यवस्था बनेको हो । देशको भौगोलिक सीमा होस वा राजनीतिक व्यवस्था, दुबै दृष्टिले वर्तमान नेपाल पृथ्वीनारायण शाहले तलवारको बलमा जीतेको विस्तारित (केहीको निम्ति एकीकृत) नेपाल होइन । अहिलेको संविधानले राष्ट्र भनेको कुनै राजा महाराजा होइन, देशको जनतालाई भनेको छ, त्यसैले अहिलेको राष्ट्रिय एकताको प्रतीक यस देशका जनवर्ग, जनसमुदाय र यसका निम्ति संघर्ष गर्ने जनता, राजनीतिक शक्तिहरू र शहादत दिने व्यक्तित्वहरू हुन् । त्यसैले अहिलेको राजनीतिक परिप्रेक्ष्यमा पृथ्वीनारायण शाह कुनै जाति र समुदाय विशेषको एकताको प्रतीक हुन सक्छन्, तर अहिलेको गणतन्तान्त्रिक नेपालको होइन ।

यस अर्थमा गणतन्त्रको निम्ति शहादत दिनेहरू, जनताको संघर्ष स्मरण गर्ने प्रतीकात्मक दिवसहरू र व्यक्तित्वहरूलाई स्मरण गर्ने चलन अहिलेसम्म शुरू भएको छैन ।

राजनीतिक रूपमा विचार गर्ने हो भने वर्तमान गणतन्त्र ऐतिहासिक रूपमा विगतका सबै व्यवस्थाबाट सम्बन्धविच्छेद गरेर स्थापित सार्वभौमिक अधिकार सम्पन्न जनताको तन्त्र हो । विगतका राजनीतिक व्यवस्थाहरूले आ–आफ्नो राजनीतिक प्रतीक सारे झै वर्तमान गणतन्त्रका सञ्चालक राजनीतिक शक्तिहरूले पनि यसका निम्ति संघर्ष गर्ने राजनीतिक विचार, शहीद र प्रेरणास्पद व्यक्तित्वहरूलाई अगाडी सार्न सक्नु पथ्र्यो । यसबारे गम्भीरतापूर्वक छलफल आवश्यक छ । नेपालमा गणतन्त्रको ऐतिहासिक प्रतीकहरू बारे केही छलफल गरौँ–

राणाविरूद्धको संघर्षमा पहिलो राजनीतिक दल प्रजा परिषदको शुरूवाती दस्तावेजहरूमा गणतन्त्रको वकालत गरिएको छ ।

२००७ सालमा नेपाली कांग्रेसले राणाशाहीलाई पराजित गरेर राजा त्रिभूवनको नेतृत्वमा प्रजातन्त्र स्वीकार गरे पनि कांग्रेसकै मुक्ति वाहिनीका एक कमान्ड भीमदत्त पन्तले पश्चिम नेपालमा गणतन्त्रको निम्ति किसान विद्रोह शुरू गरे । पछि भारतीय सत्ताधारीको सहयोगमा उनको हत्या गरियो । राणा शासनको समापनपछि गणतन्त्रको निम्ति यो पहिलो सशस्त्र संघर्ष थियो ।

यस अर्थमा गणतन्त्रको निम्ति शहादत दिनेहरू, जनताको संघर्ष स्मरण गर्ने प्रतीकात्मक दिवसहरू र व्यक्तित्वहरूलाई स्मरण गर्ने चलन अहिलेसम्म शुरू भएको छैन ।

त्यस्तै २०१७ सालमा राजा महेन्द्रले निर्वाचित संसद बर्खास्त गरेर निरंकुश निर्दलीय पञ्चायती राजतन्त्र स्थापना गरेपछि नेपाली कांग्रेसको एउटा हिस्सा गणतन्त्रको पक्षमा देखिएका थिए । त्यति बेला बीपी कोइरालासमेतका लेख र वक्तव्यहरू गणतन्त्रको पक्षमा थिए । यसैबाट प्रेरित भएर २०१८सालमा जनकपुरमा दुर्गानन्द झाले राजा महेन्द्रको जीपमा बम प्रहार गरे र खुशी साथ शहादत दिए । उनका अन्य साथी माफी मांगेर मृत्युदण्डबाट बचे र उनको सजाय आजीवन कारावासमा परिणत भयो । यो अवसर दुर्गानन्दलाई पनि थियो, तर उनी माफी माग्न तयार भएनन् र हाँसी हाँसी फाँसीवरण गरे । उनलाई गणतन्त्रको सफलतामा दृढ विश्वास थियो र उनले आफूलाई जेलमा भेट्न आएकी श्रीमति काशीदेवीलाई भनेका थिए–‘न रोउ, मलाई विश्वास छ, एकदिन गणतन्त्र आउनेछ र तिमीलाई शहिदपत्नी भनेर जनताले सम्मान गर्नेछन् ।’

२०२७/०२८साल तिर नेपाली कांग्रेसको युवा फ्रन्टको पत्रिका ‘तरूण’मा गणतन्त्रको जोडदार वकालत गरिएको हुन्थ्यो । तत्कालीन तरूण पत्रिकामा राजासहितको प्रजातन्त्रको वकालत गर्नेहरूलाई सुधारवादी र गणतन्त्रको समर्थकहरूलाई अग्रगामी क्रान्तिकारी भनेर कांग्रेसी नेताहरूका लेखहरू प्रकाशित हुन्थे । यद्यपि कांग्रेसभित्र गणतन्त्रको विचार अस्थायी जस्तो रह्यो । कांग्रेसमा राजासँग मेलमिलापको राजनीतिले वर्चस्व जमायो । त्यसपछि २०६२/०६३ मा गणणतन्त्र स्थापना भएपछि मात्रै कांग्रेसले आफ्नो राजनीतिक दृष्टिकोणमा परिवर्तन गरेर गणतन्त्र स्वीकार गर्‍यो ।

पञ्चायती राजतन्त्रकालमा सैद्धान्तिक रूपमा गणतन्त्रको पक्षमा वकालत गर्ने राजनीतिक शक्ति कम्युनिस्ट पार्टीहरू थिए । यी पार्टीहरूको वैचारिकतामा देशैभरी अनेकौँले शहादत दिए । तर २०४७ सालमा संवैधानिक बहुदलीय राजतन्त्रको स्थापनापछि कम्युनिस्ट शक्ति मध्येको शक्तिशाली नेकपा (एमाले)लगायतका कम्युनिस्ट पार्टीहरूले राजनीतिक लाइन संशोधन गरी संवैधानिक राजतन्त्रका हिस्सा बन्न पुगे । यस दृष्टिले यी पार्टीको निर्देशनमा पञ्चायती राजतन्त्र विरूद्धको संघर्षमा शहादत दिनेहरू गणतन्त्रका शहिदहरू नै थिए ।

नेपाली राजनीतिमा वैयक्तिकरूपमा गणतन्त्रको सबैभन्दा ठूलो नाम रामराजाप्रसाद सिंहको हो । जसले आफ्नो सम्पूर्ण जीवन गणतन्त्रको संघर्षमा लगाए ।

संवैधानिक राजतन्त्रकालमा माओवाद वा माओ विचारधाराका कम्युनिस्ट पार्टीहरू मात्रै वर्गसंघर्षको माक्र्सवादी विचारधारामा आधारित गणतन्त्रको पक्षमा दृढताका साथ टिके । यस मध्येकै एउटा हिस्सा माओवादीले २०५२ सालदेखि दसवर्षे जनयुद्धको उठान गर्‍यो, जो अन्ततः राजतन्त्रको सबै रूप विरूद्ध निर्णायक प्रहार साबित भयो । १० वर्षको निरन्तर सशस्त्र संघर्ष, २०६२/६३मा संसदीय दलहरूको सहकार्यबाट संयुक्त जनआन्दोलनको बलमा राजतन्त्रको समाप्ति र गणतन्त्रको कारक बन्यो । यस दस वर्षे माओवादी जनयुद्धमा दुईतर्फी सशस्त्र आक्रमण प्रत्याक्रमणहरूमा आधिकारिक तथ्यांक अनुसार सरकारी पक्षका लगभग ४ हजार जनाको मृत्यु भयो भने जनयुद्धकारी पक्षबाट ९ हजारभन्दा बढीको शहादत भयो । जनयुद्ध र संयुक्त जनआन्दोलनमा ज्यान गुमाउनेहरू गणतन्त्रका शहिदहरू हुन् ।

तर, नेपाली राजनीतिमा वैयक्तिकरूपमा गणतन्त्रको सबैभन्दा ठूलो नाम रामराजाप्रसाद सिंहको हो । जसले आफ्नो सम्पूर्ण जीवन गणतन्त्रको संघर्षमा लगाए । दुई दिन पहिले उनको स्मृति दिवस थियो । अफसोस, जसले आफ्नो जमिन्दारी पृष्ठभूमिको सुखसयल त्यागेर देशमा गणतन्त्रको निम्ति आजीवन संघर्ष गर्‍यो, जेलनेल भोग्यो; गणतन्त्र स्थापित भइसके पनि उसलाई सम्झने फुर्सद यस गणतन्त्रका सञ्चालकहरूलाई भएन । यो राजनीतिक कृतघ्नता हो । कतिसम्म भने फरक विचार भएर पनि गणतन्त्रात्मक शक्ति भएको कारण जुन माओवादीलाई जनयुद्धमा उनले शुभेच्छा दिएका थिए र जुन माओवादीले गणतन्त्रको पहिलो राष्ट्रपतिको पदमा उनलाई उम्मेदवार बनाएको थियो, त्यसलाई पनि रामराजाप्रसादलाई सम्झने फुर्सद भएन ।

यसले गणतन्त्रको अधूरोपना र राजनीतिक विडम्बना दर्शाउँछ । जतिबेला गणतन्त्र र यसका उपलब्धिहरूमाथी विभिन्न कोणबाट भित्री बाहिरी आक्रमण भइरहेका छन्, नयाँ पुस्तालाई सामन्तवादी बन्धनबाट मुक्तिको निम्ति नेपाली जनताले गरेका जनसंघर्ष र यसका प्रेरक प्रतीकहरू बारे जानकारी गराउनु आवश्यक छ ।

रामराजाप्रसाद नेपाली राजनीतिमा विडम्बनापूर्ण परिघटना हुन् । नेपाली राजनीतिमा उनी यस्ता राजनीतिक पात्र हुन्, जसले सामन्तवाद र राजतन्त्रबाट मुक्त नेपाली जनताको सपना देखे, गणतन्त्रको पक्षमा सशस्त्र संघर्ष गरे र जब देशमा गणतन्त्र आयो, सत्ताको कारोबारी र स्वार्थी राजनीतिले उनीलाई नै अस्वीकार गरिदियो ।

२०१७ सालपछि, राजा महेन्द्रको निर्दलीय राजतन्त्रात्मक शासनकाल राष्ट्रिय पञ्चायत सदस्यको निम्ति निर्वाचनमा स्नातककोटा छुट्याइएको थियो । शुरूदेखि नै गणतन्त्रको पक्षमा आवाज उठाउने रामराजाप्रसाद सिंह त्यतिबेला काठमाडौँमा वकालत गर्थे । २०२४ सालमा उनले स्नातककोटाबाट चुनावमा उम्मेदवारी दिए । तर उनका राजतन्त्रविरोधी पर्चा र वक्तव्यको कारण जलेश्वरमा उनी पक्राउ परे । २०२८ सालमा उनले फेरी स्नातककोटामा उम्मेदवार बने र जीते । तर उनलाई फेरी पक्राउ गरियो । उनी जेलमा रहँदा राजा महेन्द्रले स्वयं उनीसँग नारायणहिटी दरबारमा दुईपटक वार्ता गरे । भनिन्छ यस वार्तामा राजा महेन्द्रले उनलाई प्रधानमन्त्री समेतको अफर दिएका थिए, तर उनको जवाफ थियो–‘आई एम नट इन सेल ।’ (म बिक्रीमा छैन ।) अन्ततः उनलाई राष्ट्रिय पञ्चायत सदस्यबाट निष्कासित गरियो । २०२८ साल पौष ८ गते नेपाल राजपत्रमा उनलाई राष्ट्रिय पञ्चायत सदस्यबाट निष्कासित गरिएको विज्ञप्ति प्रकाशित भयो । पक्राउ परेको चार वर्ष छ महिनापछि उनी जेलमुक्त भए । त्यति बेला राजा महेन्द्रले राष्ट्रिय पञ्चायत सदस्यका लागि स्नातककोटा नै खारेज गरिसकेका थिए ।

त्यसपछि रामराजाप्रसादले ‘बहुदलीय जनवादी मोर्चा’ गठन गरेर २०३७ सालमा जनमत संग्रहमा भाग लिए । तर, आफ्ना जनवादी गणतन्त्र र आवश्यक परे संशस्त्र संघर्षको पक्षमा वक्तव्यका कारण उनी फेरी नेपालगञ्जमा पक्राउ परे । तर जनमत संग्रहको खुला माहोलको कारण उनलाई लगत्तै छाडियो । त्यसपछि उनी भूमिगत भएर आफ्ना राजनीतिक गतिविधिमा लागे । २०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह आन्दोलन गरिरहेको बेला सोही वर्ष असार ६ गते नारायणहिटी राजदरबार दक्षिण ढोका, राष्ट्रिय पञ्चायत भवन, पोखरा लगायत देशका विभिन्न भागमा बम विस्फोटन भयो । यस विस्फोटनमा एकजना राष्ट्रिय पञ्चायत सदस्य र एकजना गुरिल्ला सहित ८जनाको हताहती भएको थियो । विस्फोटको तेस्रो दिन दिल्लीमा बिबिसीको कार्यालयमा गएर रामराजाप्रसादले बहुदलीय जनवादी मोर्चाको संयोजकको हैसियतले विस्फोटको जिम्मावारी लिए । तत्कालीन शासनले उनलाई मृत्युदण्ड र ‘सूट एन्ड साइट’को सजाय सुनायो ।

२०४६ सालको जनआन्दोलन पछि स्थापित बहुदलीय व्यवस्थाको सरकारले उनीसहित बमकाण्डमा सामेल सबै अभियुक्तको सजाय माफीको निर्णय गर्‍यो । २०५१ सालको मध्यावधि निर्वाचनमा उनले नेपाल जनवादी मोर्चाको तर्फबाट सिरहा र धनुषाबाट उम्मेदवारी दिएका थिए । विडम्बना भनौ, दुबै ठाउँबाट उनको जमानत जफत भयो । छल, पैसा र गुन्डाको बलमा जितिने निर्वाचनमा एउटा इमान्दार र नैतिक राजनेताको पराजय आश्चर्यजनक थिएन ।

२०६३ सालमा गणतन्त्र स्थापित भए पछि उनी मित्रवत् नेकपा माओवादी निकट थिए । माओवादीले उनलाई राष्ट्रपतिको उम्मेदवार बनायो । तर यो अर्को विडम्बना थियो कि जीवनभरी गणतन्त्रको निम्ति संघर्ष गर्ने रामराजाप्रसाद गणतान्त्रिक नेपालको प्रथम राष्ट्रपति हुन नैतिकरूपमा सर्वाधिक योग्य भएर पनि पराजित भए । नेपाली कांग्रेसले उनको विरूद्ध आफ्नो लो प्रोफाइलको नेता डा. रामवरण यादवलाई उम्मेदवार बनायो र उनी जिते ।

उल्लेखनीय छ, जतिबेला २०२८सालमा रामराजाप्रसाद स्नातक कोटाबाट राष्ट्रिय पञ्चायतको चुनाव जितेका थिए, कांग्रेस निकटको पत्रिका तरूणले उनको जीतलाई ‘राष्ट्रिय एकताको प्रतीक’ भनेको थियो । सुश्री शैलजा आचार्यको सम्पादकत्वमा प्रकाशित हुने ‘तरूण’मा लेखिएको थियो–‘हामी काठमाडौंका बुद्धिजीविलाई स्यावासी भन्छौँ जसले आफ्नो भोटद्वारा तराईको एउटा व्यक्तिलाई जिताएर राष्ट्रिय एकतालाई छिन्नभिन्न पार्ने तानाशाहीको प्रयत्नलाई हाँक दिएको छ । स्याबास् बहादुर तराईवासी रामराजा जसले तानाशाहको दुर्गभित्रै उसलाई हाँक दियो । यस दृष्टिबाट रामराजाको चुनावले नेपालको राष्ट्रिय पक्ष सबल भएको छ । उनको भोट राष्ट्रियताको भोट हो । वर्तमान व्यवस्थाले नेवार–पर्वते, मधिशे–पहाडी, लिम्बु–अलिम्बु, तागाधारी–मतवाली आदि आदि जातीय भावनागत वैमनस्यको सूत्रपात गराएको छ ।’

रामराजाप्रसाद कम्युनिस्ट विचारका थिएनन् । उनी लोकतान्त्रिक समाजवादी थिए । कांग्रेस र एमाले लगायतका संसदीय दलहरूमा गणतान्त्रिक प्रतिबद्धताको अभाव थियो ।

तर पहिलो राष्ट्रपतीय निर्वाचना कांग्रेसले रामराजाप्रसादको विरूद्ध उम्मेदवारी दियो, हरायो । विडम्बना के छ भने, नेकपा (एमाले) र नयाँ मधेशी राजनीतिको वकालत गर्ने उपेन्द्र यादव नेतृत्व लगायतका मधेशकेन्द्रित दलहरूले पनि रामराजाको विपक्षमा मतदान गरे । यद्यपि तत्कालीन मधेशी जनअधिकार फोरमका केन्द्रीय सदस्य जयप्रकाश गुप्ताले पार्टी बैठकमा नोट अफ डिसेन्ट लेखे र उनको आह्वानमा फोरमका १७ जनाले क्रस भोटिंग गरे ।

रामराजाप्रसाद कम्युनिस्ट विचारका थिएनन् । उनी लोकतान्त्रिक समाजवादी थिए । कांग्रेस र एमाले लगायतका संसदीय दलहरूमा गणतान्त्रिक प्रतिबद्धताको अभाव थियो । माओवादीमा भने शुरूदेखि नै गणतान्त्रिक प्रतिबद्धता थियो । रामराजाप्रसाद नेतृत्वको तत्कालीन बहुदलीय जनवादी मोर्चाका उपाध्यक्ष खेमराज मायालुका अनुसार आफूहरू पञ्चायती व्यवस्था विरूद्ध बम विस्फोट र सशस्त्र आन्दोलनको तयारीमा रहेको जानकारी दिन र सहयोगको अपेक्षासहित उनी बीपी कोइराला र कृष्णप्रसाद भट्टराईसँग २०३८ सालमा भेटेका थिए । तर बीपीले गणतन्त्रको आन्दोलन सफल नहुने भनेर सहयोग गर्न अस्वीकार गरे र उल्टै मायालुलाई नै तरूण दलमा सामेल हुन आग्रह गरेका थिए । अर्कोतर्फ कृष्णप्रसाद भट्टराईले त ‘मसँग यस्तो कुरा गर्न हिम्मत कसरी गरेको ?’ भनेर झपारेको कुरा खेमराज मायालुले एउटा अन्तर्वार्तामा भनेका थिए । मायालु पछि नेपाली कांग्रेसमा सामेल भएका थिए ।

२०४२ सालमा कांग्रेसले धर्ना दिएको बेला पञ्चायती व्यवस्था विरोधी आन्दोलनमा बल पु¥याउने उद्देश्यले रामराजाप्रसादको पार्टीले बम विस्फोटन गराएको थियो । तर उनको अपेक्षा विपरीत कांग्रेसले धर्ना कार्यक्रम नै स्थगित गरिदियो । यसै निहुँमा पञ्चायती सरकारले मोर्चाका कार्यकर्ता विरूद्ध व्यापक गिरफ्तारी र दमनचक्र चलायो । मोर्चाका दिलिप चौधरी लगायत पाँचजनाभन्दा बढी कार्यकर्ता र नेताहरू सरकारी हिरासतबाट सधैका लागि बेपत्ता पारिए । यस सरकारी दमनचक्रको शिकार कम्युनिस्ट पार्टीका अनेक कार्यकर्ता र नेताहरू पनि भए । तत्कालीन पञ्चायती शासकवर्ग र अन्य राजनीतिक पार्टीहरूले समेत रामराजाप्रसादलाई भारतीय गुप्तचर एजेन्सीबाट सञ्चालित रहेको आरोप लगाएका थिए । तर त्यसपछि देशमा घटित राजनीतिक घटनाक्रमहरूले उनलाई इमान्दार र उच्च नैतिकताको गणतान्त्रिक राजनेता साबित गरेको छ ।

२०४६सालको जनआन्दोलनको बेलामा पनि कांग्रेस र एमाले लगायतका दलहरूले राजासँग सम्झौता गरेर बहुदलीय संवैधानिक राजतन्त्र स्वीकार गर्दा माओवादी विचारका तत्कालीन दलहरूले यसलाई जनतासँग धोका भनेर सम्झौताप्रति असहमति व्यक्त गरेका थिए । गणतन्त्रप्रतिको यसै प्रतिबद्धताको कारण रामराजाप्रसाद जनयुद्धकालमा र गणतन्त्रको स्थापनापछि माओवादी निकट भएका थिए । वस्तुतः उनले आफूले पूरा गर्न नसकेको गणतन्त्रको निम्ति संघर्षको निरन्तरता नै तत्कालीन माओवादीसँंग उनको निकटताको कारण थियो ।

 गणतन्त्रमा गणतान्त्रिक शहिदहरू उपेक्षा र नयाँ पुस्ताको बेखबरीले वर्तमान सत्तालाई फासीवादतर्फ प्रेरित गर्न सक्छ ।

रामराजप्रसादको राजनीतिक इमान्दारी, नैतिकता र उच्च सैद्धान्तिकता नै थियो कि उनी गणतन्त्रको स्थापनापछि पनि उपेक्षित रहे र उनको जीवनका अन्तिम वर्षहरू एकान्तिकतामा बित्यो । २०६९साल भदौ २७ गते ७६ वर्षको उमेरमा स्नायुरोगबाट उनको निधन भयो ।

देशमा गणतन्त्र स्थापना भएको १८ वर्ष भइसकेको छ । तर, लाग्छ, ढाँचा मात्र फेरिएको छ, वर्तमान राजनीतिक व्यस्थाको चरित्र र आत्मा गणतन्त्रात्मक हुन अझै बाँकी छ । राजनीतिक परिप्रेक्ष्यमा अर्थहीन र सन्दर्भहीन भइसकेका पृथ्वीनारायण, भानुभक्त जस्ता राजतन्त्रकालका प्रतीकहरूको उत्सव अहिले पनि राज्यसत्ताले धुमधामसँग मनाउँछ । तर गणतन्त्र र जनताको राज्य स्थापनाको निम्ति जीवन अर्पण गर्ने शहिदहरू, नेताहरू अहिले पनि उपेक्षित छन् । लाग्छ देशमा गणतन्त्रको स्थापना भए पनि यस्मा पुरानै व्यवस्थाका तत्वहरूले कब्जा गरेका छन् । वर्तमान राजनीति र बौद्धिक क्षेत्रमा देखिने यसखालको उदासीनता र यान्त्रिकता वर्तमान गणतन्त्रको भविष्यको निम्ति खतरनाक छ ।

राज्यसत्ताले उपेक्षा गरे पनि आफूलाई सचेत र प्रगतिशील भन्ने बौद्धिक र जनसमुदायले गणतन्त्रका शहिद र प्रेरक व्यक्तित्वहरूलाई प्रतीकको रूपमा स्मरण गर्नु र उनीहरूको स्मृतिमा जनउत्सवको परम्परा चलाउनु आवश्यक छ । जनताको अधिकार, गणतन्त्र र संघीयताको निम्ति सर्वस्व गुमाउने भीमदत्त पन्त, दुर्गानन्द झा, ऋषि देवकोटा आजाद, रामवृक्ष यादव जस्ता शहिदहरूदेखि रामराजाप्रसाद सिंह जस्ता इमान्दार गणतान्त्रिक नायकहरू यस धाराका प्रेरक प्रतीकहरू हुन् । गणतन्त्रमा गणतान्त्रिक शहिदहरू उपेक्षा र नयाँ पुस्ताको बेखबरीले वर्तमान सत्तालाई फासीवादतर्फ प्रेरित गर्न सक्छ । यस्तोमा गुमाउने जनता नै हुनेछ । चेतना भया !