विश्वशान्ति र समृद्धिका लागि चुनौती बढ्दैछ : परराष्ट्रमन्त्री राणा

विश्वशान्ति र समृद्धिका लागि चुनौती बढ्दैछ : परराष्ट्रमन्त्री राणा


काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विश्वमा शान्ति र समृद्धि प्राप्तिका लागि एसियाली क्षेत्र एवं विश्वमै चुनौती बढिरहेको बताएकी छन् ।

कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसीडी) को तेस्रो सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै उनले पछिल्लो समय विश्वका विभिन्न क्षेत्रमा बढ्दो द्वन्द्व तथा भू–राजनीतिक अवस्था लगायतका कारण शान्ति र समृद्धिको प्राप्ति जटिल बन्दै गएको धारणा राखिन् ।

मन्त्री डा. राणाले भनिन्, ‘लामो समयदेखिका द्वन्द्व, भूराजनीतिक अवस्था, प्रतिद्वन्द्विता, आतङ्कवाद, प्राकृतिक प्रकोपजस्ता कारणहरू विश्वव्यापी शान्ति, सुरक्षा र समृद्धिका बाधक बनिरहेका छन् । अन्तर्राष्ट्रिय सङ्गठित अपराध अर्काे यस्तै समस्या बनेको छ । एसियाली क्षेत्रमा पनि शान्ति र समृद्धिको प्राप्तिका लागि यस्तै धेरै समस्या छन् ।’

अहिलेको विश्वले बढ्दो ध्रुवीकरण र विभाजनको सामना गर्नुपरिरहेको र एसियाली क्षेत्रमा समेत बढ्दो रूपमा देखिएको युद्ध र द्वन्द्वको अवस्था ठूलो चिन्ताको विषय भएको उनको भनाई थियो ।
मन्त्री डा. राणाले भनिन्, ‘हामी अझै पनि सन् २०३० सम्म पूरा गर्नुपर्ने विश्वव्यापी दिगो विकासका लक्ष्यहरु पूरा गर्न सक्ने अवस्थामा देखिएका छैनौँ । ती लक्ष्यबाट हामी अझै धेरै टाढा छौँ । त्यसैले पनि हामी एसियाली देशहरु भोलिको पुस्ताको सुरक्षित भविष्यका लागि सहकार्य र एकताकासाथ काम गर्नुपर्ने अवस्था छ ।’

साथै जलवायु परिवर्तन अहिलेको विश्वको एक प्रमुख चुनौती बनिरहेकाले यसको समाधानका लागि तत्कालै प्रभावकारी कदमहरू चाल्नुपर्नेमा उनले जोड दिइन् ।

जलवायु परिवर्तनको असरबाट विश्वका अतिकम विकसित, भूपरिवेष्टित, साना टापू राष्ट्रहरू लगायत बढी समस्यामा परिरहेकाले तिनको समस्या समाधानका लागि विश्वका विकसित देशहरूले ध्यान दिनुपर्ने र उनीहरूले यी देशलाई गर्नुपर्ने प्रतिबद्धता बमोजिमको सहयोग उपलब्ध गराउनुपर्ने बताइन् ।

यी समस्याहरू हुँदाहुँदै पनि शान्तिपूर्ण र समृद्ध एसियाका लागि ‘एसीडी भिजन २०३०’को मान्यता अनुसार अघि बढ्न एसियाली देशहरूसँग अवसर पनि रहेकाले यसका लागि सबैको एकता र सहकार्य आवश्यक रहेको पनि उनले बताइन् ।

उनले भनिन्, ‘एसिया प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा, परम्परागत ज्ञान र नवीन प्रविधिको धनी एवं युवा तथा गतिशील जनसंख्या रहेको क्षेत्र भएकाले यसले विकास र समृद्धि हासिल गर्न अप्ठ्यारो छैन । सहकार्य र एकताका साथ भोलिको पुस्ताका लागि हामीले काम गर्नुपर्दछ ।’

नेपाल सदैव बहुपक्षीयता र क्षेत्रीय सहयोगको पक्षमा रहिआएको र सन् २०१६ मा एसीडीमा आबद्ध भएदेखि नै यसका उद्देश्यहरू पूरा गर्ने पक्षमा उभिँदै आएको पनि उनले बताए । भोलिका दिनमा पनि ‘एसीडी भिजन २०३०’ पूरा गर्न नेपाल सदैव एसीडीसँगै रहने उनले बताइन् ।

मन्त्री डा. राणाले खेलकुदका माध्यमबाट सामाजिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नै एकता र सद्भाव कायम गर्न सहयोग पुगेको धारणा राखिन् ।

उनले भनिन्, ‘मानव सभ्यतासँगै विकास भएको खेलकुदले मानिसहरूबीच बढ्दो द्वन्द्वको अवस्थालाई रोक्न, तनाव कम गर्न र विभिन्न देशहरूबीच मित्रताको वातावरणलाइ प्रवर्द्धन गर्न सहयोग पुर्‍याएको छ ।’

खेलकुद कूटनीतिलाई एसिडीको तेस्रो सम्मेलनको ‘थिम’का रुपमा अघि सारेकामा यसको नेतृत्वलाई धन्यवाद दिँदै एसिडी समूहको उन्नतिका लागि खेल कूटनीतिले आगामी दिनमा थप सहयोग पुर्याउने मन्त्री डा राणाले बताउनुभयो ।

उहाँले भन्नुभयो “खेलकुदले कुनै पनि व्यक्तिको सामाजिक पहिचानको निर्माण गर्दछ । खेलका माध्यमबाट सामाजिक एकता र सदभाव निर्माण हुने गरेको छ । त्यसैले एसियाली क्षेत्रको सामूहिक विकासका उद्देश्यहरु हासिल गर्नका लागि पनि खेलकुद कूटनीति अहिलेको एक सान्दर्भिक विषय हो ।”

मन्त्री डा राणाले खेलकुद कूटनीतिलाई अगाडि बढाउन महिला र अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता बढाउनुपर्ने, खेलकुदलाई सांस्कृतिक पहिचानको प्रवर्धन गर्ने माध्यमका रूपमा विकास गर्नुपर्ने तथा खेलाडीहरुलाई सद्भावना दूतका रूपमा नियुक्त गर्ने परिपाटीको विकास गर्नुपर्ने सुझाइन् ।

द्वन्द्व प्रभावित क्षेत्रहरूमा शान्तिका लागि सघाउन खेलकुदका कार्यक्रमहरू आयोजना गर्नुपर्ने सुझाव पनि उनको थियो ।