चीन रहेका नेपाली विद्यार्थीलाई तत्काल स्वदेश फर्काइयोस्ः रञ्जित तामाङ

चीन रहेका नेपाली विद्यार्थीलाई तत्काल स्वदेश फर्काइयोस्ः रञ्जित तामाङ


काठमाडौं – अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङले चीनमा रहेका नेपाली विद्यार्थी स्वदेश फर्काउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले सरकारले विद्यार्थी स्वदेश फर्काउन पहल नगरेको भन्दै आक्रोश पोखेका छन् ।

नेता तामाङले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘पछिल्लो समय महामारीको रुप लिँदै गरेको कोरोना भाईरस बिश्व समुदायलाई चुनौतिको बिषय बन्दै गईरहेको छ । उक्त महामारीबाट नेपाल पनि प्रभावित भएको छ । महामारीबाट बच्न र आफ्ना नागरिकलाई सुरक्षित गर्न बिश्व समुदाय लागि परेको यो बेलामा,चीनको हुवे प्रान्तको उहान तथा आसपासबाट हाल महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट जोखिममा परेको क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुलाई फर्काउन त्यहाँ रहेका विद्यार्थीहरुले सरकारलाई आग्रह गरे पनि सरकार मौन रहेको समाचारले दुःख लाग्यो । अन्य देशहरुले आफ्ना नागरिकलाई सुरक्षित रुपमा स्वदेश फर्काउने प्रक्रिया सुरु गरे पनि नेपाल सरकार भने फर्काउन प्रक्रिया शुरु नगरेकोमा हाम्रो ध्यानाकर्षण भएको छ ।’

उनले सरकारलाई विद्यार्थीलाई तत्काल नेपाल फर्काउन पहल गर्न माग गरेका छन् । ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजबाट शुरुभएको केन्द्रीय समिति बैठकको पनि यस बिषयमा गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भनेका छन् ।