भारतको निर्भया बलात्कार प्रकरणः दोषीको फाँसी सरेको सर्‍यै

भारतको निर्भया बलात्कार प्रकरणः दोषीको फाँसी सरेको सर्‍यै


काठमाडौं – सन् २०१२ डिसेम्बर १६ तारिखका दिन भारतको राजधानी नयाँदिल्लीमा भएको निर्भया सामूहिक बलात्कार प्रकरणका दोषीलाई तोकिएको फाँसीको सजाय सरेको सर्‍यै भएको छ ।

२०२० जनवरी २२ तारिखका लागि तय गरिएको फाँसीको मिति अदालतबाट स्थगित भएपछि लगातार सर्दै आएको छ । पछिल्लो पटक १ फेब्रुअरीमा फाँसी हुने गरी तय भएको थियो । तर शुक्रवार दिल्लीको एक अदालतले अर्को आदेश नभएसम्मका लागि फाँसीको सजाय टारेको छ ।

सामूहिक बलात्कार प्रकरणमा दोषी पाइएका मुकेश सिंह, विनय शर्मा, अक्षयकुमार सिंह र पवन गुप्तालाई सर्वोच्च अदालतले फाँसीको सजाय सुनाइसकेको छ । तर दोषीलाई फाँसीमा चढाउनुअघिका प्रक्रियाका कारण फाँसीको सजाय कार्यान्वयन सर्दै आएको छ ।

अदालतको फैसलापछि भावुक हुँदै निर्भयाकी आमा आशादेवीले पत्रकारसँग भनिन्, ‘अपराधीका वकिलले फाँसीको सजाय रोक्ने धम्की दिएर गएका छन् । मलाई लाग्दैछ कि सरकारले यी अपराधीलाई फाँसी नदिने मन बनाएको छ ।’ अपराधीलाई फाँसीमा झुण्ड्याउँदासम्म आफ्नो लडाइँ जारी रहने उनले बताइन् ।

अदालतमा निवेदन पेश गर्दै अपराधीका वकिल एपी सिंहले फाँसीको सजाय टार्न अपिल गरेका थिए । उनले दोषीहरू आतंकवादी नभएको दाबी गरेका छन् । दिनभर भएको बहसपछि अदालतले अर्को आदेश नभएसम्म फाँसीको सजाय रोक्न आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।