बालिका बलात्कार गर्ने स्ववियु सभापतिलाई १० बर्ष कैद सजाय

बालिका बलात्कार गर्ने स्ववियु सभापतिलाई १० बर्ष कैद सजाय


पर्वत– बालिका बलात्कारको आरोपमा कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति शिशिर क्षेत्रीलाई जिल्ला अदालत पर्वतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ ।

२०७४ सालको चैत १५ गते बागलुङमा चैते दशैं मेला अवलोकन गरेर फर्किदै गरेकी १६ वर्षीया युवतीलार्ई सामूहिक बलात्कार गरेको अभियोगमा क्षेत्रीसहित अन्य दुई जना युवालाई अदालतले सजाय सुनाएको हो ।

कुश्मा नगरपालिका–१ पाङ सहस्रधारा घर भई नेपाल विद्यार्थी सङ्घबाट स्ववियु सभापति बनेका २३ वर्षीय क्षेत्रीलाई न्यायाधीश सूर्यबहादुर थापाको एकल इजलासले बुधबार फैसला सुनाएको हो । क्षेत्रीलाई मुलुकी ऐनअन्तर्गत कसुर ठहर गरी पांच वर्ष र साङ्गठनिक अपराधमा संलग्न रहेको ठहर गरी पांच वर्ष गरी १० वर्ष कैद सजाय सुनाइएको छ ।

क्षेत्रीसहित पक्राउ परेका दुई बालकहरूको उमेर नपुगेका कारण एक जनालाई पांच वर्ष कैद र एक जनालाई डेढ वर्ष सुधारगृहमा राख्ने गरी फैसला भएको छ । अदालतले घटना भएको होटलका सञ्चालक शेरबहादुर हमाललाई भने सफाइ दिएको छ ।