काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक सदस्यद्धय चन्द्र गुरुङ र उद्धव पौडेलले पार्टी परित्यागको घोषणा गरेका छन् । उनीहरुले पूर्वअध्यक्ष कमल थापा पार्टीबाट अलग भएको भोलिपल्टै सामाजिक सञ्जालमार्फत सो घोषणा गरेका हुन् ।
‘राप्रपामा बस्दाको पल सदैव अविष्मरणीय रहनेछ । आजैदेखि राप्रपासँगको संलग्नतालाई अन्त्य गर्दछु । सबैलाई शुभकामनासहित धन्यवाद व्यक्त गर्दछु । सबै को जय होस्!’, नेता गुरुङले लेखेका छन् ।
राप्रपाका केन्द्रीय सदस्य अभिषेक थापाले नेताद्धय गुरुङ र पौडेल पार्टीबाट अलग भएको बताए । कमल थापाले मंगलबार मात्रै पार्टीबाट बाहिरिएको घोषणा गरेका थिए ।
मंसिर दोस्रो साता राप्रपा महाधिवशेनमा अध्यक्ष पदमा पराजित भएपछि पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासले हस्तक्षेप गरेको भन्दै कमल थापा असन्तुष्ट थिए ।
उनले छानबिनको माग समेत गरेका थिए । तर, अध्यक्ष राजेन्द्र लिङ्देनसँग शनिबार भएको भेटवार्तापछि राप्रपामा आफ्नो स्थान नरहेको निष्कर्षसहित थापा पार्टीबाट बाहिरिएका हुन् ।
उनले नयाँ पार्टी खोल्ने तयारी समेत गरेका छन् । हिन्दुराष्ट्रको एजेन्डामात्र बोक्ने गरी नयाँ पार्टी बनाउन लागेको बुझिएको छ । उनले आफु निकटहरुलाई नयाँ दल दर्ताका लागि सहयोग गर्न समेत आग्रह गरेका छन् । राप्रपाबाट थापा बाहिरएलगत्तै पार्टी छाड्नेको लहर सुरु भएको हो ।
प्रतिक्रिया