काठमाडौ – राष्ट्रिय सभाको आजको बैठकले ‘राष्ट्रिय सभा नियमावली, २०७५ को परिमार्जित मस्यौदा प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
संसद् भवनमा आज बसेको राष्ट्रिय सभाको बैठकले उक्त नियमावली पारित गरेको हो । बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले ‘राष्ट्रियसभा नियमावली, २०७५’ को परिमार्जित मस्यौदा प्रतिवेदन बैठकमा पेश गरेका थिए ।
बैठकमा दीनानाथ शर्मा, सुरेन्द्रराज पाण्डे, बृशेषचन्द्र लाल, प्रमिला कुमारी र डा विमला राई पौडेलले बैठकमा पेश भएको नियमावली एकताको सन्देशको भावसहित आएको बताएका थिए ।
नियमावलीमा फौजदारी अभियोग लागेर पुर्पक्षका लागि थुनामा रहेका सांसदलाई संघीय कानुन बनाएर कार्वाही गर्ने व्यवस्था गरिएको नियमावली मस्यौदा समितिका सभापति गुरुङले बताए। उनले फौजदारी अभियोग लागेका सांसदलाई कार्वाही गर्ने व्यवस्था कानुनमै उल्लेख गर्न उपयुक्त हुने कुरामा संसदमा सहमति जुटेको पनि स्पष्ट पारे। नियमावलीमा ४ वटा समिति रहने व्यवस्था गरिएको छ।
संसदमा सरकारलाई जवाफदेही बनाउन प्रधानमन्त्री र मन्त्रीहरूले अनिवार्य जवाफ दिने बाध्यात्मक व्यवस्था पनि गरिएको छ। नियमावलीमा समितिको नेतृत्वमा ३३ प्रतिशत महिला अनिवार्य रहने व्यवस्था पनि गरिएको छ। राष्ट्रिय सभाको अर्को बैठक असार ३ गते दिनको ११ बजे बस्नेछ ।
प्रतिक्रिया