काठमाण्डु– नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।
कार्यकारी निर्देशक श्रेष्ठले बुधबार पदबाट राजीनामा दिएका हुन् । यससंगै गभर्नरको दौडमा श्रेष्ठसहित नीलम ढुंगाना, ज्ञानेन्द्र ढुंगाना र गुणाकर भट्ट अघि देखिएका छन् । सत्तारुढ दलको बीचमा गभर्नर नियुक्तिबारे अहिलेसम्म सहमति नभएको स्रोत बताउंछ ।
गभर्नर आफु निकट व्यक्ति बनाउन नेतासहित व्यवसायीहरु समेत लविङमा लागेका छन् । कांग्रेस सांसद समेत रहेका व्यवसायी विनोद चौधरी, कोषाध्यक्ष उमेश श्रेष्ठ ढुंगानालाई बनाउन लागेका छन् ।
गुणाकरको पक्षमा सुदुरपश्चिबाट प्रतिनिधित्व गर्ने सांसद र नौ जिल्लाकै कांग्रेस सभापतिहरु लविङमा छन् । उनलाई गभर्नर बनाउन सभापति देउवा र परराष्ट्रमन्त्री आरजु देउवामाथि दवाव छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैसंग निकट सम्बन्ध रहेका र पछिल्लो समय सबै राजनीतिक नियुक्तिमा हावी देखिएका व्यापारी दीपक भट्ट नीलमलाई बनाउन लविङमा छन् ।
एमाले महासचिव शंकर पौडेल र अर्थमन्त्री विष्णु पौडेल भने श्रेष्ठलाई बनाउने पक्षमा छन् । कांग्रेस नेता प्रकाशशरण महत र अर्का व्यापारी नरेश श्रेष्ठको समुह भने रविन्द्र पाण्डेको पक्षमा छ ।
राष्ट्र बैंक गभर्नरको दौडमा रहेका श्रेष्ठ अहिले राष्ट्रिय योजना आयोगका सदस्य छन् ।
मौद्रिक अर्थशास्त्रमा विद्यावारिधि गरेका श्रेष्ठ अर्थमन्त्री विष्णु पौडेलको अघिल्लो कार्यकालमा अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकार थिए । गभर्नरको दौडमा रहेका श्रेष्ठले राष्ट्र बैंकबाट राजीनामा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
केहीदिन अगाडि गभर्नर बन्ने दौडमा रहेका नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएका थिए ।
श्रेष्ठले पदबाट राजीनामा दिएसंगै उनले गभर्नर बनाउने आश्वासन पाएको हुन सक्ने चर्चा छ । एमाले निकट रहेका श्रेष्ठ अर्थतन्त्रको बारेमा राम्रो ज्ञान भएका अर्थशास्त्री हुन् । तर, पछिल्लो समय राजनीतिक नियुक्तिमा व्यवसायीहरु बढी हावी भएकाले यसै भन्न नसकिने अवस्था रहेको प्रधानमन्त्री निकट स्रोतले बतायो ।
प्रतिक्रिया