काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पहिलो पटक संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै छिन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो संयुक्त ऐतिहासिक बैठकलाई दिउँसो ४ बजे सम्बोधन गर्ने कार्यतालिका संसद सचिवालयले सार्वजनिक गरेको छ।
दुवै सदनको ऐतिहासिक बैठकलाई दोस्रो कार्याकालका लागि निर्वाचित राष्ट्रपति भण्डारीले पहिलो पटक सम्बोधन गर्न लागेकी हुन्। संसद सचिवालयका अनुसार राष्ट्रपति भण्डारी संघीय संसद भवन नयाँ बानेश्वरमा घोडाको बग्गीमा प्रवेश गदैछिन् ।
संसद भवनमा राष्ट्रपति प्रवेश गर्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङलगायतले स्वागत गर्नेछन्।
राष्ट्रपति भण्डारी संसदमा सम्बोधन गर्न जाने नयाँ रुट तयार भएको छ। महानगरीय प्रहरी परिसर टेकुका अनुसार राष्ट्रप्रमुखको सवारीका लागि नयाँ रुट बनेको हो। कम सवारी चाप हुने सडकलाई राष्ट्रपतिको सवारी रुट बनाइएको छ। शीतल निवासबाट गाडीमा सवार राष्ट्रपति भण्डारी शान्तिनगर गेटमा पुगेपछि बग्गीमा चढ्नेछिन्।
शीतल निवास, एकदेवी मोड, बालुवाटर, भाटभटेनी, नक्साल भगवती, लुस्सेचोक, ज्ञानेश्वर, रातोपुल, गौशाला, गोल्डेनगेट कलेज, सिनामंगल, तीनकुने, शान्तिनगर हुँदै बानेश्वपरको रुटमा राष्ट्रपतिको सवारी हुने छ ।
प्रतिक्रिया