प्राधिकरणबाट न्यानो कपडा र घर मर्मत गर्न रकम वितरण

प्राधिकरणबाट न्यानो कपडा र घर मर्मत गर्न रकम वितरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भद्रपुर–  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट यस वर्ष बाढीबाट पूर्णरुपमा घर क्षति भएका प्रतिपरिवारका लागि न्यानो कपडा खरिद गर्न रु १० हजार र घर मर्मत गर्न रु १५ हजार रकम प्राप्त भएको छ ।

 

झापाका निमित्त प्रजिअ कृष्णराज पौडेलको अध्यक्षतामा आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सो रकम झापामा ८११ परिवारले प्राप्त गर्ने जनाउदै गृह मन्त्रालयबाट पनि चिसो वा जाडोबाट बच्नका लागि रु १० लाख बराबरको कम्बल र दाउरा वितरण गर्न रकम प्राप्त भएको जानकारी दिएको छ ।

 

आजै आयोजित २०औ राष्ट्रिय भूकम्प दिवसमा शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका इ विनोद पौडेलले भूकम्पीय सुरक्षाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै मानिसले भूकम्पीय सुरक्षा घर निर्माण गर्दा पाँचदेखि १० प्रतिशत मात्र बढी खर्च लाग्ने, निर्माण सामग्रीको गुणस्तर पहिचान गर्नुपर्ने, दक्ष एवं क्षमतावान् कामदार लगाउनुपर्ने र निर्माणस्थलको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिए ।

 

कार्यपत्रमा विसं १३१० देखि १९९० सम्मको ६८० वर्षका अवधिमा १० विनाशकारी भूकम्प आएको र २०७२ वैशाख १२ गते आएको ७.८ रिक्टर स्केलको भूकम्पको उद्गमविन्दु पृथ्वीको सतहभन्दा १५ किमी गहिराइमा रहेको तथा ५० करोड टन विष्फोटक पदार्थ पड्काउदा आउने कम्पनजस्तो भएको उल्लेख छ ।

 

विसं १९९० मा आएको भूकम्पको सम्झनामा २०५५ सालदेखि भूकम्प दिवस मनाउनुको उद्देश्य नागरिकलाई सुसूचित गरी यसबाट हुने जनधनको क्षति न्यूनीकरण गर्नाका साथै भौतिक निर्माणमा चेतना जगाउने रहेको इ पौडेलले बताए । ‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने प्रमुख नाराका साथ मनाइएको सो कार्यक्रममा जनप्रतिनिधि, कार्यालय प्रमुख, सुरक्षाकर्मी तथा सञ्चारकर्मीको सहभागिता थियो ।
रासस