रास्वपाको कूटनीति : चीनसँग नजिकिँदै, भारतसँग टाढिँदै

रास्वपाको कूटनीति : चीनसँग नजिकिँदै, भारतसँग टाढिँदै


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधि सभाको चौथो ठूलो दल भएका कारण रास्वपा गतिविधिले नेपाली राजनीतिमा अर्थ राख्छ । स्पष्ट विचारधारा विना अकस्मात उदाएको रास्वपा पछिल्लो समय उत्तरी छिमेकी चीनसँग नजिकिएको देखिएको छ ।

निकटता यतिसम्म कि केही महिना बिराएर नेपालका लागि चिनियाँ राजदूत छन् सोङ् रास्वपा कार्यालय नै पुग्न थालेका छन् ।

गत साउन ३१ गते चिनियाँ राजदूत छन् पार्टी कार्यालय वनस्थली पुगेका थिए । जहाँ सभापति रवि लामिछाने र राजदूत छन् बीच भेटवार्ता भएको थियो । भेटमा रास्वपा नेताहरू शिशिर खनाल, लिमा अधिकारी र प्रतिभा रावल सहभागी थिए ।

चिनियाँ राजदूत छन् बिहीबार फेरि रास्वपा कार्यालय पुगेका छन् । कार्यालयमा सभापति लामिछाने र राजदूत छन् बीच भेटवार्ता भएको रास्वपाले जनाएको छ ।

रास्वपाले भनेको छ, ‘प्रतिनिधिसभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, प्रतिनिधिसभा सदस्य तथा पार्टीको पूर्वाधार विकास विभाग प्रमुख निशा डाँगी लगायतको सहभागिता रहेको भेटघाटमा रास्वपाले सम्पन्न गरेको ३ दिने दबाब यात्रा (पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र अहिले यात्रा क्रममा नागरिकले खेप्नु परेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउने कार्यक्रम) का विषयमा कुरा भएको छ । निर्माणमा ढिलाइ हुनुको विविध कारणबारे छलफल भएको छ । थप ढिलाइ नहुन चालिनुपर्ने कदम र निर्वाह गरिनुपर्ने भूमिकाबारे विस्तृत कुराकानी भयो । आयोजना छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट आवश्यक पहल गर्ने राजदूत सोङले प्रतिबद्धता जनाउनुभयो ।’

चिनियाँ राजदूतसँग नजिकिँदै विकासबारे छलफल गरिरहेका रास्वपा सभापति लामिछाने भारतीय दूतावाससँग चिढिएका छन् । हालै भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा आयोजित रात्रिभोजलाई सभापति लामिछानेले बहिष्कार नै गरेका छन् ।

विदेशमन्त्री जयशंकरले विभिन्न नेताहरूलाई एक्लाएक्लै भेटे पनि आफूलाई एक्लै नभेटेकोमा सभापति लामिछानेको असन्तुष्टि रहेको स्रोतले जनाएको छ । ‘संसद्को चौथो ठूलो दलको प्रमुख नेतालाई एक्लै नभेटेकोमा उहाँको असन्तुष्टि छ,’ स्रोतले भन्यो, ‘त्यसपछि उहाँले सामूहिक भोज कार्यक्रम बहिष्कार गर्नुभयो ।’

नेपालका राजनीतिक दलहरू कोही भारततिर र कोही चीनतिर ढल्किने प्रवृत्ति पुरानै हो । नयाँ दल रास्वपामा पनि यस्तै प्रवृत्ति पुनरावृत्ति हुने देखिएको छ ।