रास्वपाको राष्ट्रिय भेलामा १ हजार ५०० प्रतिनिधि सहभागी हुने

रास्वपाको राष्ट्रिय भेलामा १ हजार ५०० प्रतिनिधि सहभागी हुने


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो राष्ट्रिय भेला आगामी असोज १ र २ गते काठमाण्डुमा आयोजना गर्ने भएको छ ।

रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत भेलाका लागि १५ दिनदेखि तयारी गरिएको कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सञ्चालन गरिने २ दिने भेलामा देशभरबाट १ हजार ५०० प्रतिनिधिले सहभागिता जनाउने उनले बताए ।

‘तयारी सुरु गरेको १५ दिन भयो । केन्द्रीय समितिदेखि पालिकाका प्रतिनिधिसम्म भेलामा अटाउने कोसिस गरेका छौं,’ कार्यबाहक महामन्त्री बुर्लाकोटीले भने ।

उनका अनुसार देशभर ४०० पालिका र २ हजार वडामा रास्वपाको पार्टी संरचना छ । वडाबाट प्रतिनिधि ल्याउने सम्भावना नभएकाले पालिकाबाट प्रतिनिधि छनोट गरी ल्याउने व्यवस्था गरेको महामन्त्री बुर्लाकाटीले जानकारी दिए ।

‘निर्वाचन क्षेत्र समिति, जिल्लाको संयोजक/उपसंयोजक, प्रदेशको समिति, विभाग, आयोग र अन्य संयन्त्रसँगै केन्द्रीय समिति, विभाग र संरचना सहभागी हुने व्यवस्था गरेका छौं,’ उनले भने, ‘चाडपर्वको नजिकै भएका कारण १ हजार ५०० जना उपस्थित हुने गरी तयारी गरेका छौं ।’

भेलाका लागि पार्टीले १५ वटा उपसमिति गठन गरेर तयारी गरिरहेको छ । भेलामा राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत हुने जनाइएको छ । पार्टी सभापति रवि लामिछानेबाट राजनीतिक प्रतिवेदन प्रस्तुत हुने कार्यबाहक महामन्त्री बुर्लाकोटीले बताए ।