प्रतिनिधिसभा विशेष अधिवेशन बोलाउन रास्वपाको अपिल

प्रतिनिधिसभा विशेष अधिवेशन बोलाउन रास्वपाको अपिल


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा विशेष अधिवेशन बोलाउन अपिल गरेको छ ।

पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय जीवनका समसामयिक समस्याहरू तत्काल छलफल गर्न आवश्यक देखिएको भन्दै प्रतिनिधिसभा विशेष अधिवेशनका लागि अपिल गर्दै राजनीतिक दलहरूको ध्यानाकर्षण गराए ।

विज्ञप्तिमा नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलको सहभागितामा बनेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले १०० दिन पूरा गर्नै लागेको भए पनि घोषित प्रतिबद्धता पूरा गर्नेतर्फ प्रारम्भिक संकेतसम्म देखाउन नसकेको उल्लेख छ ।

प्रवक्ता झाले विपद्को पूर्वतयारीमा चुकेको सरकार व्यवस्थापनमा पनि असफल भएको बताउँदै मुद्दा खेपिरहेका विवादित व्यापारीबाट करोडौं मूल्य पर्ने जग्गा दान लिएर सत्ताको नेतृत्व गर्ने दलले नै स्वार्थको द्वन्द्वको डरलाग्दो अभ्यास गरेको र सुशासनको अडान धरमराएको बताए ।

विज्ञप्तिमा भनिएको छ, ‘संविधान संशोधनको बहसमा औचित्य पुष्टि हुने गरी सरकारले श्वेतपत्र नै जारी गर्ने अपेक्षा थियो तर उक्त विषय अहिले ओझेलमा पारिएको छ ।’

आमनागरिकमा चरम असन्तुष्टि र उद्यमी व्यवसायीमा निराशा बढेको जनाउँदै विज्ञप्तिमा सरकारको अन्तर्राष्ट्रिय विश्वसनीयता समेत फितलो हुँदा द्विपक्षीय आर्थिक सम्बन्ध गत्यावरोध हुन थालेको उल्लेख छ ।