सभापति लामिछाने पक्राउपछि रास्वपाले भन्यो – अब परिवर्तनको लडाइँ थप बुलन्द भएको छ

सभापति लामिछाने पक्राउपछि रास्वपाले भन्यो – अब परिवर्तनको लडाइँ थप बुलन्द भएको छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब परिवर्तनको लडाइँ थप बुलन्द भएको टिप्पणी गरेको छ ।

पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै राजनीतिक जालझेलविरुद्ध उभिन सचेत रहन आह्वान गरेका छन् ।

‘हाम्रो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गरिएको पक्राउप्रति हामी घोर भर्त्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टि गरेको अवस्थामा सोही मुद्दामा सभापतिलाई पक्राउ गरिनु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको हाम्रो ठम्याइ छ । तथापि रास्वपा विधिको शासनलाई सम्मान गर्दै राज्यका न्यायिक निकायको छानबिनलाई सघाउन सदैव तयार छ । तर कानूनका छिद्रमा टेकेर रास्वपा र हाम्रा सभापतिमाथि साँधिने राजनीतिक प्रतिशोध हामीलाई कदापि स्वीकार्य छैन ।’

बिना कारण, बिना आधार सभापतिलाई पक्राउ गरेर आमजनताको सहकारीमा डुबेको ८७ अर्ब अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल सुरु भएको सहजै बुझ्न सकिने रास्वपाको बुझाइ छ । विज्ञप्तिमा लेखिएको छ, ‘गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरामक्स र वाइडबडी जस्तो अर्बाैंको घोटालामा आपसी समझदारीमा एकअर्कालाई बचाउँदै लुट्दै आएका दलहरूले नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरेका हुन् । हामी डराएका छैनौं, तर्सिएका हैनौं । अब परिवर्तनको लडाइँ थप बुलन्द भएको छ ।’