काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछानेको पक्षमा उभिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खुशी व्यक्त गरेको छ ।
अध्यक्ष प्रचण्डले सरकारले रविमाथि प्रतिशोधपूर्ण व्यवहार गरिरहेको जिकिरसहित सार्वजनिक अभिव्यक्ति दिएको भन्दै रास्वपा खुसी भएको छ ।
सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाण्डुबाट पक्राउ परेका पूर्वगृहमन्त्री लामिछानेलाई चितवनबाट पोखरा लैजाने क्रममा प्रहरीले दुर्व्यवहार गरेको आरोप लागिरहेका बेला प्रचण्डले सोमबार सरकारको कदममाथि प्रश्न उठाएका छन् । त्यसलाई लिएर रास्वपाका प्रवक्ता मनिष झाले प्रचण्डलाई धन्यवाद दिएका छन् ।
सामाजिक सञ्जाल एक्समा झाले लेखेका छन्, ‘धन्यवाद प्रचण्ड, राजनीतिक प्रतिशोध विरुद्धको यो संघर्षमा हाम्रो साथमा उभिनुभएकोमा हामी आभारी छौं ।’
यसअघि माओवादी अध्यक्ष प्रचण्डले सोमबार सामाजिक सञ्जाल फेसबूकमार्फत् सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा अध्यक्ष लामिछानेको पक्षमा समर्थन गर्दै लेखेका छन्, ‘अदालतबाट दोषी ठहर नभएका, अत्याधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति माननीय रवि लामिछानेमाथि सरकारले जुन निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेको छ, त्यसको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु ।’
प्रतिक्रिया