रवि पक्राउपछि रास्वपाले के भन्यो?

रवि पक्राउपछि रास्वपाले के भन्यो?

कार्यवाहक सभापतिको जिम्मा उपसभापति अर्याललाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- आफ्ना सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा अदालतको आदेशअनुसार पक्राउ परे पछि राष्ट्रिय स्वतन्त्र पार्टी शनिबार रात भर बैठक गरेको छ ।

शुक्रबार राति अबेरदेखि शनिबार बिहानसम्म चलेको केन्द्रीय सचिवालयको भर्चुअल बैठकले उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछानेका सम्बन्धमा गरेको आदेशलाई सम्मान गर्ने निर्णय गरेको छ ।

बैठकले अन्य विभिन्न ४ वटा निर्णय पनि गरेको छ ।

अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र न्यायका लागि अघि बढ्ने बैठकले निर्णय गरेको छ । ‘उच्च अदालत तुलसीपुर बुटवल इजलासले पार्टी सभापति रवि लामिछानेको सम्बन्धमा जुन निर्णय गरेको छ, त्यो निर्णयलाई कानुनको एक तहको निर्णयको रूपमा बुझ्दै, पार्टी सभापति रवि लामिछानेले आफ्नो भिडियो सन्देशमा भन्नुभएझैँ, अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्ने, साथै, अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने’,बैठकपछि रास्वपाले गरेको निर्णयमा उल्लेख छ ।

बैठकले सभापति लामिछानेलाई पक्राउ पूर्जी नलिएरै प्रहरीले पक्राउ गरेको असन्तुष्टि जनाएको छ ।

नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउने गैरसंवेदनशील र गैरकानुनी कार्य भएको भन्दै रास्वपाले भत्सर्ना गरेको छ ।

यस्तै शनिबार चितवनमा आयोजना हुने जनयात्रालाई सफल पार्ने पनि बैठकले निर्णय गरेको छ ।

‘हामीले गर्ने सभा शान्त र सौम्य हुनुपर्छ भन्ने सभापतिको निर्देशनबमोजिम सभालाई शान्तिपूर्ण बनाउन तथा हुन सक्ने सम्भावित घुसपैठ, चलखेल तथा बिथोल्ने प्रयासहरू रोक्नका लागि सबै सदस्यहरूलाई सचेत, संयमित र गम्भीर रहन निर्देशन दिने,’ बैठकको निर्णयमा भनिएको छ ।

यस्तै पार्टी सभापति लामिछानेले पार्टीको नेतृत्व जिम्मेवारीको लागि कार्यवाहक सभापतिमा उपसभापति डिपी अर्याललाई तोकेकोमा त्यसलाई अनुमोदन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् । सो आदेशसँगै शुक्रबार राति लामिछाने निवासबाटै पक्राउ परेका थिए ।