रविले स्वीकारे-गोर्खा मिडियामा सहकारीको रकम गलत तरिकाबाट आयो

रविले स्वीकारे-गोर्खा मिडियामा सहकारीको रकम गलत तरिकाबाट आयो


काठमाण्डु-रास्वपाका सभापति रवि लामिछानेले गोर्खा मिडियामा गलत तरिकाबाट सहकारीको रकम आएको स्वीकार गरेका छन् ।

धनगढी विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले गोर्खा मिडिया लगायतका संस्थाहरूमा सहकारीबाट गलत ढंगले पैसा गएको बताएका हुन् ।

तर त्यसमा आफ्नो संलग्नता नभएको उनले दाबी गरे । तर आफू गोर्खा मिडियामा भएकै कारण अरुले गरेको गल्तीको जिम्मेवारी आफूले लिनुपर्छ भन्ने नहुने उनले बताए ।

‘कसले गलत काम गरेर त्यो पैसा सहकारीबाट गोरखा मिडियालगायतका ठाउँमा गएको भनेर सार्वजनिक भएको हो । त्यसमा रवि दोषी छ कि छैन भन्नेमा त्यसमा मैले चुनौतीका साथ भनेको छु, मलाई प्रमाणित गरिदिनुस्’, उनले भने ।

उनले संसद्को सहकारीसम्बन्धी छानविन समितिले समस्या समाधान केन्द्रित भएर प्रतिवेदन दिन्छ भन्ने विश्वास व्यक्त गरे ।

लामिछानेले वर्तमान सरकारको काम सन्तोषजनक नरहेको पनि टिप्पणी गरे । ‘सरकारको काम सन्तोषजनक छैन । तर, हामी १०० दिनको समय दिन्छौ’, उनले भने, ‘अहिले हेरिरहेका छौँ । १०० दिन पूरा भएपछि बोल्छौँ । सरकारले राम्रो गरोस् भन्ने चाहना छ । तर, त्यसखाले छनकचाहिँ देखिएको छैन ।’

कांग्रेस र एमालेको वर्तमान सरकारबाट जनतामा निराशा छाएको उनको भनाई छ । सरकारको कामकारबाहीलाई लिएर आफूहरुले निरन्तर खबरदारी गरेको यनले बताए ।

‘सरकारको काम अहिलेसम्म हेर्दा सन्तोषजनक देखिएको छैन। हामीले खबरदारी गरिरहेका छौँ। नियालिरहेका छौँ। जनताको जुन आशा छन् त्यो सरकारको व्यवहारबाट देखियोस् भन्ने चाहेका छौँ। तर, त्यस्तो कुनै छनक देखेको छैन। सरकार योजनामा होला सय दिनसम्म सरकारलाई सुविधा दिनुपर्छ’, उनले भने ।