रवि लामिछानेसँग आज काठमाडौंमा बयान लिँइदै

रवि लामिछानेसँग आज काठमाडौंमा बयान लिँइदै


काठमाण्डु-सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेसँग आज जिल्ला सरकारी वकिल कार्यालयले बयान लिँदैछ ।

कास्कीमा जस्तै काठमाडौंमा पनि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ । काठमाडौंमा बयान सकिएपछि लामिछानेलाई कास्की नै फिर्ता गरिनेछ ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत सहकारीको रकम अपचलनका विषयमा बयानका लागि उनलाई बिहिवार काठमाडौं ल्याइएको हो ।

स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको सम्बन्धमा जाहेरी परेपछि काठमाडौं प्रहरी परिसरले लामिछानेविरुद्ध मंसिर २ मा पक्राउ पुर्जी जारी गरेको थियो । उनी अहिले काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ ।

गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा गत कात्तिक २ मा पोखरामा पक्राउ परेका थिए ।

कास्की जिल्ला अदालतले आइतबार पाँचौपल्ट म्याद थप्दै १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

प्रहरीका अनुसार सूर्यदर्शन सहकारीसँग सम्बन्धित बयान भने सकिएको छ ।

लामिछाने लगायतविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ । साहारा चितवन सहकारीको रकम ठगीको अनुसन्धानमा विरुद्ध पक्राउ पुर्जी जारी भए पनि लामिछानेलाई चितवन लैजाने वा नलैजानेबारे निर्णय भइसकेको छैन ।