स्वर्णलक्ष्मी सहकारी प्रकरण : रविसहित ४४ जनाविरुद्ध अनुसन्धान प्रतिवेदन आज बुझाइँदै

स्वर्णलक्ष्मी सहकारी प्रकरण : रविसहित ४४ जनाविरुद्ध अनुसन्धान प्रतिवेदन आज बुझाइँदै


काठमाण्डु-काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएका ४४ जनाविरुद्ध कानुनी कारबाही चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन तयार भएको छ ।

प्रतिवेदनमा ४४ जनालाई प्रतिवादी कायम गरिएको छ । ४४ जनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसमेत छन् ।

काठमाडौं प्रहरी परिसरले तयार गरेको अनुसन्धान प्रतिवेदनमा ४४ जनासँग एक अर्ब १९ करोड रुपैयाँ मागदाबी गरिएको छ । सहकारी संस्थामा पाँच हजार ६६९ जनाले दुई अर्ब ६५ करोड ९५ लाख ५९ हजार रुपैयाँ बचत गरेकामा एक अर्ब १९ करोड अपचलन भएको अनुसन्धानबाट खुलेको र उक्त रकम अपचलनमा संलग्नता देखिएका ४४ जनालाई प्रतिवादी बनाई उनीहरूसँग सोहीबराबर बिगो मागदाबी गर्नुपर्ने रायसहितको प्रतिवेदन तयार प्रहरीले गरेको हो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बिहीवार बुझाइने छ ।

कात्तिक २१ गते सहकारी संस्थाको लेखा समिति सदस्य सुनिता नेवा र कात्तिक २६ गते ऋण उपसमिति सदस्य कमल लामा पक्राउ परेका थिए । उक्त सहकारीको रकम अपचलनमा संलग्न जिबी राई, पूर्वडिआईजी छविलाल जोशी, दीपक लामा, कुमार रम्तेल, नवीन अछामीसहित ४४ जनालाई प्रतिवादी कायम गरी मुद्दा चलाउनुपर्ने प्रतिवेदनमा भनिएको छ ।

सहकारी संस्थाबाट हर्बो इन्टरनेसनल प्रालि, गोर्खा मिडिया नेटवर्कसहित १२ वटा कम्पनीमा सहकारी ऐन नियमविपरीत ऋण प्रवाह भएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

उक्त सहकारी संस्थाबाट देवदीप एग्रिकल्चर, मन्दरा टुर्स एन्ड एक्सपिडिसन, गोर्खा हर्बल प्रोडक्सन, कुमकुम हर्बल उद्योग, न्यु सुलक्स अफसेट, गोरखा ग्रुप अफ कम्पनिज, सारेगामा रेकर्डस्, भगवती बालुवाखानीसहित १२ वटा कम्पनीमा ऋण प्रवाह भएको पाइएको छ ।

बचतकर्ताहरूले २०७४ मा सहकारीकी अध्यक्ष कल्पना श्रेष्ठ, २०७८ सालमा अध्यक्ष दीपक लामा र २०८० सालमा अध्यक्ष भएका गितेन्द्रबहादुर (जिबी) राई, सहकारी व्यवस्थापक नविन अछामी र रास्वपा सभापति लामिछानेविरुद्ध जाहेरी दर्ता गराएका थिए । सहकारीले बचत रकम फिर्ता नगरेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

स्वर्णलक्ष्मी सहकारीबाट रास्वपा सभापति लामिछानेले पनि दुईपटक ऋण लिएको र केही रकम फिर्ता गरेको पाइएको छ । सहकारीबाट गैरकानुनी रूपमा जीबी राई र लामिछानेसहितको नाममा प्रवाह भएको ऋणको ३५ थान भौचर पनि प्रहरीले बरामद गरेको छ ।

यस्तै, सहकारीबाट गोरखा मिडिया नेटवर्कमा एक करोड ८२ लाख रूपैयाँ अवैध तरिकाले लगेर अपचलन गरिएको पाइएको छ ।