काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतवार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदै छन् । बिहीबार कास्की जिल्ला अदालतको आदेशपछि थुनामुक्त भएका लामिछाने शुक्रवार साँझ काठमाडौं आइ पुगेका थिए ।
लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था ठगीविरुद्ध पनि मुद्दा रहेकाले उनी आफै काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन लागेका हुन् । कार्यवाहक प्रवक्ता झाले लामिछाने आइतबार अदालत उपस्थित हुने बताए ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलाशले बिहीबार ६५ लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको थियो ।
लामिछानेलाई कास्की प्रहरीले बिहीबार साँझ रिहा गरेर परिवारको जिम्मा लगाएको थियो । लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । त्यसपछि उनलाई पोखरा लगिएको थियो ।
लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप लागेको छ । ती जिल्लामा पनि उनीविरुद्ध मुद्दा दर्ताको प्रकिया चलिरहेको छ ।
प्रतिक्रिया