काठमाण्डु- कालीमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस सोमबार पनि जारी छ ।
काठमाडौं जिल्ला अदालतमा दायर भएको मुद्दामा आइतबार पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेतर्फको बयान भएको थियो । सरकारी वकिलहरूले बहस नगरेपछि आइतबार उनलाई प्रहरीको जिम्मा लगाइएको थियो । सोमवार सरकारी वकिलतर्फको थुनछेक बहस पुनः सुरु भएको हो ।
लामिछानेविरुद्धको मुद्दा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस भइरहेको छ । उनलाई धरौटीमा छाड्ने या पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश सोमवार नै आउने सम्भावना प्रबल छ ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आइतबार आफैँ अदालतमा हाजिर भएका थिए ।
सहकारी ठगीको अनुसन्धानका लागि गत कात्तिक २ गते पक्राउ परेका उनी बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
उक्त मुद्दामा लामिछानेसँगै ६ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका हुन् । लामिछाने, छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ र आरती गुरुङले धरौटी रकम बुझाएर रिहा भएका थिए ।
प्रतिक्रिया