प्रधानमन्त्री प्रचण्ड दिल्ली जानुअघि ‘रअ’ प्रमुख भट्नागर र राजदूत श्रीवास्तव दिल्लीतिर

प्रधानमन्त्री प्रचण्ड दिल्ली जानुअघि ‘रअ’ प्रमुख भट्नागर र राजदूत श्रीवास्तव दिल्लीतिर


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि आईतबार भारतको दिल्ली जानुअघि शनिबार भारतीय गुप्तचर संस्था ‘रअ’का नेपाल प्रमुख राघवप्रसाद भट्नागर र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव दिल्ली प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रोपटक नियुक्ति भएर शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन् । त्यसका लागि प्रचण्ड दिल्ली जानुअघि रअ प्रमुख र राजदूत दिल्ली गएका छन् । उनीहरू नेपाल एयरलाइन्सको उडान आरए २१७ बाट २ः२० बजे दिल्ली प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग मिलेपछि पहिलोपटक दिल्ली भ्रमण हुन लागेको छ । कांग्रेससँगको गठबन्धन तोडेपछि प्रचण्डसँग दिल्ली चिढिएको चर्चा थियो । शपथ ग्रहण कार्यक्रमको अवसरमा प्रचण्ड दिल्ली जान लागे पनि प्रधानमन्त्री मोदीसँगै विदेश मन्त्रालयका अधिकारीसँग समसामयिक विषयमा छलफल हुने सम्भावना रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

यसैबीच रअका नेपाल प्रमुख फेरिएका छन् । करीब ३ वर्षसम्म नेपाल बसेका भट्नागरको स्थानमा नयाँ प्रमुख आएका छन् । भट्नागर २०७८ बैशाखमा नयाँ प्रमुखको रूपमा नेपाल आएका थिए ।

रअका नर्थ डेस्क प्रमुख रहेका अंशुल शर्मालाई नेपाल स्टेसनको प्रमुख नियुक्त गरिएको छ । उनी अब छिट्टै काठमाण्डु अवतरण गर्ने तयारीमा छन् ।

यसैबीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि नयाँदिल्ली गएका छन् । राजदूत श्रीवास्तव न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि भारतको स्थायी प्रतिनिधिको पदमा जाने चर्चा छ । नयाँ नियुक्तिसँगै प्रधानमन्त्री मोदीले विदेश मन्त्रालयमा व्यापक हेरफेर गरिरहेका छन् ।

पढ्नुहोस् यो पनि –

सत्ता सम्हालेसँगै मोदीद्वारा विदेश मन्त्रालयमा व्यापक फेरबदलको तयारी

रअका नेपाल प्रमुख फेरिए, भट्नागरको स्थानमा आए अंशुल शर्मा