काठमाडौं – भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल शनिबार नेपाल आएर फर्किएका छन् । उनको काठमाडौं आगमनलाई औपचारिक रुपमा गोप्य राखिएको छ भने अनौपचारिक रुपमा खुला ।
उनको काठमाडौं भ्रमणबारे खुलेर कोही बोल्न चाहँदैनन् तर अनौपचारिक रुपमा उनको भ्रमणको सबै गतिविधि सार्वजनिक भइसकेका छन् । उनको भ्रमण औपचारिक रुपमा किन गोप्य राखियो ? यो प्रश्न गम्भीर छ ।
भारतीय संस्थागतको उद्देश्य अनुसार ‘रअ’ले नेपाली राजनीतिमा हस्तक्षेप गर्ने र देशमा अस्थिरता मच्चाउने आरोप लाग्ने गरेको छ । रअका गतिविधिलाई शंकास्पद रुपमा हेर्ने गरिएको अवस्थामा भ्रमणलाई गोप्य राखिँदा शंका उत्पन्न हुनु स्वाभाविकै हो ।
गुप्तचर प्रमुखको भ्रमणबारे परराष्ट्र मन्त्रालयलाई औपचारिक जानकारी हुनुपर्ने तथा प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीसँग भेटवार्ता हुनुअघि परराष्ट्रबाट स्वीकृति लिनुपर्ने कूटनीतिक परम्पराविपरीत गोप्य चुरीफुरी हुँदा शंका बढेको छ । रअ प्रमुख गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सम्मलाई भेटेको चर्चा छ ।
मोदीको दोस्रो कार्यकालसँगै रअको चुरीफुरी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका छन् । मोदीको पहिलो कार्यकालमा नेपालमाथि अघोषित नाकाबन्दी लागेकाले नेपालसँगको सम्बन्ध सुखद छैन । मोदीले आफ्नो दोस्रो कार्यकालमा नेपाल सम्बन्धका जानकार मानिएका एस जयशंकरलाई विदेशमन्त्री बनाएका छन् । विदेशमन्त्री जयशंकरकै योजनामा नेपालमाथि अघोषित नाकाबन्दी लागेको मान्यता राख्ने गरिन्छ ।
रअ प्रमुखले नेपाल आएर के गर्न खोजेका हुन् त ? कतिपयले सत्ता फेरबदल र राजनीतिक अस्थिरता निम्त्याउन खोजेको अनुमान गरेका छन् । तर प्रमुख गोयलले प्रधानमन्त्री ओलीलाई समेत भेटेकाले यो अनुमान खासै मिल्दैन । ओलीलाई नै प्रधानमन्त्रीबाट हटाउने मिसन भए ओलीलाई नै भेट्नुपर्ने थिएन । प्रधानमन्त्रीलाई नै भेटेको अवस्थामा भारतीय संस्थापन पक्ष ओलीकै सरकारसँग सहकार्य गर्न चाहन्छ भन्ने देखिन्छ ।
स्रोतका अनुसार रअ प्रमुख गोयलको भ्रमण सम्बन्ध सुधारमा केन्द्रित रहेको देखिएको छ । प्रधानमन्त्री र शीर्ष राजनीतिक नेतृत्वलाई भेटेर नेपाली भावना बुझ्ने र त्यही अनुसार भारतीय नेतृत्वलाई सन्देश र सूचना उपलब्ध गराउने उद्देश्यले रअ प्रमुखको भ्रमण भएको स्रोतको दाबी छ । रअ प्रमुखको भ्रमणलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको तयारीसँग समेत हेरिएको छ । मोदी केही महिनाभित्रै नेपाल आउने तयारी गरिरहेको स्रोतको दाबी छ ।
प्रमुख गोयलले भ्रमणका क्रममा कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, नेकपाका सचिवालय सदस्यद्वय माधवकुमार नेपाल, वामदेव गौतम, प्रहरी प्रमुख र नेपाली सेनाका प्रमुख लगायतका व्यक्तिसँग भेटवार्ता गरेको जनाइएको छ । गोयलको टोलीमा बृज भुषणसिंह तोमर र अरुण जैन समेत थिए । तोमर रअका जोइन्ट सेक्रेटरी तथा चीन साउथ एसिया डेस्कको प्रमुख पनि हुन् ।
नेपालस्थित भारतीय दुतावासमा कन्सुलर भएर काम गरिसकेका अरुण जैन पनि टोलीमा थिए । रअका ज्वाइन्ट सेक्रेटरी जैन नेपाल मामलाका जानकार मानिन्छन् ।
मोदीको सम्भावित भ्रमण
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका लागि तयारी भइरहेको संकेत सरकारका मन्त्री र भारतीय राजदूत एउटै कार्यक्रममा देखिनुले समेत पुष्टि गरेको छ ।
भारतबाट पाइपलाइनबाट इन्धन आयात गर्ने परियोजनाको काम अन्तिम चरणमा पुगेको र त्यसको उद्घाटन भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री ओलीको हातबाट संयुक्त रुपमा गराउने गरी तयारी भइरहेको छ । त्यही तयारी गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरी तराई झरेका छन् ।
दुवै जनाले संयुक्त रुपमा पाइपलाइन परियोजनाको निरीक्षण र अनुगमन गरेका छन् ।
सम्पूर्ण तयारी पूरा भएर उद्घाटनको तयारीमा रहेको पाइपलाइनको निरीक्षण टोलीमा मन्त्री यादव, मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, भारतीय दूतावासका उच्च अधिकारी र नेपाल आयल निगमका अधिकारी सहभागी थिए ।
प्रतिक्रिया