सबै आमाबुवा आफ्ना छोराछोरी सफल बनेको देख्न चाहन्छन् । दशैंमा टीका लगाउँदा पनि ठूलाबडाहरूले छोराछोरीहरूलाई डाक्टर, इन्जिनीयर भइस् भनेर आशिर्वाद दिन्छन् । साना बालबालिकालाई ठूलो भएपछि के बन्ने भनेर सोध्यो भने डाक्टर, इन्जिनीयर बन्ने भनेर भन्छन् ।
बालबच्चाहरूका तिनै सपनाहरूलाई साकार पार्न बुवाआमा रातदिन एक बनाएर बालबच्चाहरूको हौसला बुलन्द बनाइराख्छन् र सपना साकार पार्न अभिप्रेरित गरी नै रहन्छन् । जब आफ्ना बालबच्चाहरू डाक्टर, इन्जिनीयर बन्ने सपना साकार हुन्छन्, तब बुवाआमा, इष्टमित्र सबै खुशी हुन्छन् । त्यो खुशीले त्यतिबेला शिखर चुम्छ, जतिबेला आफ्ना डाक्टर इन्जिनीयर छोराछोरीले उस्तै प्रतिस्पर्धी, सक्षम, योग्य जीवनसाथी प्राप्त गर्न सक्छन् ।
विडम्बना ! त्यो खुशी फेरि निराशामा बदलिन्छ, जतिबेला सुन्दर भविष्यको खोजीमा सरकारी जागिरमा स्थापित भइसकेका छोराबुहारी वा छोरीज्वाइँ राम्रो अवसरको खोजीमा स्थायी बसोबासका लागि विदेशिन्छन् । आजकल दैनिकजसो यस्तै कुराहरू सुन्न पाइन्छ ।
हामी कक्षामा होस् वा घरमा, तालिममा होस् वा कार्यशालामा मेहनत गर्नुपर्छ, उत्कृष्ट हुनुपर्छ, जीवन सहज हुन्छ त भन्छौं र बालबालिकालाई उत्कृष्ट पनि बनाउँछौ तर सुन्दर भविष्य निर्माण गर्न देशमा नै रोक्न सक्दैनौं ।
साथीभाइहरूसँग हुने फोन संवाद होस् वा भेटवार्तामा परिवार र छोराछोरीहरूको कुरा उठिहाल्छ । हाम्रा साथीभाइमध्ये धेरै जनाका त एक वटा मात्रै बच्चा छन् भने केही साथीहरूका २ वा ३ जना छोराछोरीहरू समेत छन् । बालबच्चाहरू सानो हुँदा ३ जना बच्चा भएका साथीहरू हाम्रा त घरैभरि बालबच्चा छन्, घर भरिभराउ छ भन्ने गर्नुहुन्थ्यो । हालसालै केही समय २ जना साथीहरूको घर जाने अवसर मिल्यो, सामान्य कुराकानी र चियापानपछि छोराछोरीको कुरा चल्यो र कुरै कुरामा मैले ३ जनामध्ये एक जना मात्रै नेपालमा भनेको त उहाँ श्रीमान्–श्रीमती मुखामुख गर्नुभयो र श्रीमान्ले भन्नुभयो – कान्छो नि गयो, रोक्नै सकिएन । अब फर्किन के गर्ने हुन् ? केही निश्चित छैन भन्नुभयो ।
करोडौंको सम्पत्ति भएका, शहरमा सुविधासम्पन्न भएका परिवारको मात्रै होइन, ग्रामीण मध्यम तथा निम्न मध्यम वर्गीय परिवारको कथा पनि यस्तै छ ।
ग्रामीण निम्न तथा मध्यम वर्गीय परिवारका बालबच्चाहरू कोही अध्ययनका लागि त कोही रोजगारीको खोजीमा विदेशिएका कुरा हामी सबैसामु छर्लंङ्ग छन् । नेपाल सरकारको राष्ट्रिय युवा नीतिले १६ वर्षदेखि ४० वर्षसम्मका व्यक्तिहरूलाई युवा भनेर परिभाषित गरेको छ । युवा अवस्था जीवनको अतिमहत्त्वपूर्ण र सिर्जनशील अवस्था हो । नेपालमा युवाहरूको जनसंख्या करीब ४३ प्रतिशत छ वा भनौं करीब ३ करोड जनसंख्या भएकोमा १ करोड २५ लाख वा भनौं एकतिहाइभन्दा बढी जनसंख्या युवाहरूको छ । समाज रूपान्तरण र विकासका दृष्टिकोणले यो जनसंख्या सबैभन्दा ठूलो सबल पक्ष हो । यदि युवाहरूलाई लक्षित गरी देशका सबै क्षेत्रका नीति तथा कार्यक्रमहरूलाई पुनःसंरचित गर्ने हो भने सबै क्षेत्रमा युवाहरूको दक्षता र नेतृत्व क्षमतामा विकास गरेर युवाहरूका लागि धेरै अवसरहरू सिर्जना गर्न सकिन्छ ।
नेपालमा युवाहरूबारे निकै लामो समयदेखि प्रयास गरिएको भए पनि प्रतिफल प्राप्त हुन सकेको छैन । युवाहरूको विकास गर्ने भनेर मन्त्रालयदेखि अन्य संरचनाहरू तयार गरिएको छ । पर्याप्त बजेट खर्च गरिएको छ तर अपेक्षित उपलब्धिहरूको अभावमा बर्सेनि लाखौं युवाहरू विदेश पलायन हुनुपर्ने अवस्था छ । त्यसकारण प्रश्न के हो भने के हामी हाम्रा युवाहरू बस्न योग्य मुलुक बनाउन सक्दैनौं ? यो दायित्व कसको हो ? किन यसका लागि कहीँकतैबाट पहल हुँदैन ।
पर्याप्त प्राकृतिक स्रोतसाधन तथा सस्तो बसोबासका बाबजुद हाम्रो देश युवाहरूको रोजाइ किन बन्न सकेन ? के यो विषय छलफलका लागि आवश्यक छैन ? छलफलको विषय बन्न सक्दैन ? युवाहरू देशभित्र नहुनुमा को जिम्मेवार छ र किन बारम्बार यस्तै प्रवृत्तिको पुनरागमन भइरहेको छ ? के स्रोतसाधनको अभावमा हो ? युवा विकास र संरक्षणको नाममा युवा तथा खेलकुद मन्त्रालय, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, राष्ट्रिय युवा परिषद् जस्ता निकायहरू कार्यरत छन् । के यी निकायहरूले प्रभावकारी काम गर्न सकेका छन् ? अब सार्वजनिक बहस गरेर सत्यतथ्य प्रत्येक युवासमक्ष ल्याउन जरुरी छ ।
युवाहरू परिवारका मात्र होइन, समाज र देशको नै भविष्य हुन् र उनीहरूलाई आफ्नो जीवन, परिवार, समाज र देशप्रति जिम्मेवार बनाउने माध्यम राजनीति हो भने राजनीतिक संगठनहरू युवा परिचालनका संवाहक हुन् । पञ्चायतकालमा बाल्यकाल बिताएका अधिकांश व्यक्तिहरू (युवावस्था पार भएका) राजनीतिक संगठनमा व्यापक रूपमा आवद्ध भएका छन्, प्रजातन्त्र पश्चात जन्मिएका पुस्ताका युवाहरू अवसरको खोजीमा छन् भने केही मात्र राजनीतितिर आकर्षित छन् । अहिलेको युवापुस्ता यति सक्षम, जेहेन्दार र जिम्मेवार छ कि संसारका सबैभन्दा विकसित देशका युवाहरूसरह ज्ञान, प्रज्ञान, सीप र दक्षताले भरिपूर्ण रहेका छन् । आजको सूचना तथा सञ्चारको जमानामा नेपाली युवाहरूले अन्य विकसित देशका नेताहरू र राजनीतिक पार्टीका नेताहरूको आचरण, व्यवहार र कार्यशैलीलाई प्रत्यक्ष रूपमा अवलोकन गरिरहेका हुन्छन् भने आफ्ना नेताहरूबाट पनि त्यस्तै आचरण, व्यवहार र कार्यशैलीहरूको अपेक्षा गरिरहेका हुन्छन् तर विडम्बना यहाँका नेताहरूको सोच, शैली र व्यवहारका कारण युवाहरूमा आक्रोश र निराशा बढेको छ । हुन त सबै कुराको म्याद हुन्छ र म्याद गुज्रिसकेको वर्तमान नेतृत्वले न त संसारको गतिशिलतालाई बुझ्न सक्दछ, न बदलिँदो परिवेश अनुसारको नयाँ नीति ल्याउन सक्दछ । पुरानैले काम चलाउँदा र कमिसन, भ्रष्टाचार, नातावाद, गुटवादमा रमाउँदा देशैभर निराशा र आक्रोशको पहाड खडा भएको छ ।
घामजत्तिकै छर्लङ्ग र स्पष्ट छ, यहाँका राजनीतिक पार्टीहरू र तिनै राजनीतिक पार्टीहरूको नेतृत्वमा बनेको सरकारको कार्यशैलीले यो देशलाई युवाविहीन बनाउन योगदान गरिरहेको छ । अधिकांश युवाहरू यहाँको राजनीतिक संस्कार र राजनीतिक पार्टीहरूका नेता तथा कार्यकर्ताहरूको कार्यशैली र व्यवहारबाट निराश मात्रै छैनन्, आक्रोशित पनि छन् । अभिभावकहरूले पनि यहाँभन्दा बाहिर नै अवसरहरू छन् भन्ने तरिकाले सहजीकरण गरिरहेका छन् । तर विडम्बना के छ भने अधिकांश अभिभावकहरू यहाँको राजनीतिलाई दोष दिँदै छोराछोरी विदेश त पठाउँछन् तर आफू भने तिनै राजनीतिक पार्टीको कार्यकर्ता बन्न रुचाउँछन् ।
कस्तो दुर्भाग्य छ भने पुरानो नेतृत्व सक्षम छैन र स्थापित राजनीतिक पार्टी नेपाली कांग्रेस तथा एमालेका युवा नेतृत्वमा विद्रोह गर्न सक्ने चेत र सामथ्र्य दुवै छैन । नयाँ पार्टीहरूमा स्पष्ट दृष्टिकोण र नीति छैन र सांगठनिक स्वरूप फितलो छ, जसले अहिले नै राष्ट्रिय नेतृत्व गर्न सक्ने अवस्थामा छैन । यस्तो अवस्थामा देशले अझै केही समय दिशा लिन नसक्ने प्रस्ट छ । राजनीतिक पार्टीहरूको नाममा दर्शन, सिद्धान्त र नीतिविहीन राजनीतिक भीड देश र जनताको भविष्यका लागि सदैव दुर्भाग्य हो ।
स्मरणरहोस्, जबसम्म राजनीतिले सही मार्ग समात्दैन तबसम्म युवाहरू अवसर र सुरक्षाको खोजीमा विदेश गई नै रहन्छन् । यहाँको प्राकृतिक स्रोत र साधनले होइन, सामाजिक संस्कार, राजनीतिक पद्धति तथा नीति नियमहरूले युवाहरूलाई देशबाट लखेटिरहेको छ । युवा विकासका लागि राज्यले आवश्यक संरचनाहरू त बनाएकै छ तर ती संरचनाहरू किन उत्कृष्ट छैनन् ? के चाहन्छन् युवाहरू ? किन आफ्ना बुवाआमा, परिवार, साथीभाइ सबैलाई छाडेर विदेशिन रुचाउँछन् ? के उनीहरूले भावनात्मक सम्बन्धको महत्त्व नबुझेर हो ? के छ विदेशमा जुन कुरा नेपालमा छैन ? विदेशमा भएका सबै कुरा नेपालमा पनि छन् तर नेपालमा जस्तो बेइमानहरूको रजगज विदेशमा छैन, जसले गर्दा ती देशहरूमा न्याय, सुरक्षा र शान्तिको प्रत्याभूति छ । पद र शक्तिको आडमा हुने विभेद, पक्षपात, भ्रष्टाचार, कमिशनखोर विदेशमा छैन । सामाजिक न्याय, सदाचार र पारदर्शिताले त्यहाँको सरकार र नागरिकलाई जोडेको छ । यहाँका जस्ता पुराना ऐन, नीति, नियम विदेशमा छैनन् । विदेशमा अत्यन्त दुरुस्त र नयाँ नीति, ऐन, कानून र तिनको पालना अनिवार्य गरिन्छ र दण्डहिनता अक्षम्य अपराध हुन्छ, जसले गर्दा अपराधीको सातोपुत्लो जान्छ । विदेशमा राजनीति देश र नागरिकप्रति जिम्मेवार र जवाफदेही हुन्छ भने यहाँको राजनीति भ्रष्टाचार, कमिसनखोर र तस्करहरूप्रति जिम्मेवार र जवाफदेही छ । विकसित देशमा राजनीतिक पार्टीहरू नागरिकका सुरक्षा कवच हुन् भने यहाँ राजनीतिक पार्टीहरू भ्रष्टाचारी, तस्कर र माफियाहरूका सुरक्षा कवच जस्ता भएका छन् ।
सार्वजनिक रूपमा भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरू सरकारी झण्डा हल्लाउँदै हिँड्नु र त्यसको संरक्षण र सहयोगमा सडक तताउनु नेपालमा सामान्य हो । यस्ता गलत र निकृष्ट क्रियाकलापहरूले निकट भविष्यमा के–कस्तो नकारात्मक प्रभाव पार्न सक्छ ? आउने पुस्ताको भविष्य कस्तो हुन्छ भनेर आकलन गर्न सक्ने अहिलेको युवा पुस्ताले यहाँ बसेर भविष्य खोज्नु भनेको गोरु दुहेर खिर खानु जस्तै हो भन्ने राम्रोसँग बुझेको छ, जसले गर्दा बर्सेनि युवाहरू विदेश पलायन भइरहेका छन् । वर्तमान कहालिलाग्दो परिस्थितिको अन्त्य गर्न सरकारले हिँडेको नवउदारवादको बाटो बदल्नुपर्छ भने प्रत्येक घरपरिवारले देशको सकारात्मक रूपान्तरणका लागि विशिष्ट योगदान दिन तयार रहनुपर्छ ।
(लेखक लामिछाने इस्टर्न रिसर्च इन्स्टिच्युट अफ पोजिटिभ साइन्सका प्रमुख कार्यकारी हुन् ।)
प्रतिक्रिया