जीवनमा आकर्षणको नियम कसरी लागू हुन्छ ?

जीवनमा आकर्षणको नियम कसरी लागू हुन्छ ?


आकर्षण भनेको कुनै वस्तु वा विचारप्रति मनोवैज्ञानिक, भावनात्मक वा भौतिक रूपले नजिकिनु हो । आकर्षण मानिसलाई कुनै वस्तु, विचार, व्यक्ति वा स्थानप्रति रुचि, लगाव वा प्रेम उत्पन्न गर्ने गुण हो ।

उदाहरणका लागि कुनै व्यक्तिको सुन्दरता, व्यक्तित्व, वा बुद्धिमत्ताले अरुलाई आकर्षित गर्न सक्दछ । आकर्षण मानिसको जीवनका विभिन्न पक्षहरूमा देखा पर्नसक्छ र यसले जीवनमा निकै ठूलो प्रभाव पार्न सक्दछ ।

जसरी गुरुत्वाकर्षणको नियम हुन्छ, ठीक त्यसैगरी व्यक्तिको जीवनमा पनि आकर्षणको नियम लागू हुन्छ । व्यक्तिको जीवन सोचबाट सुरु हुन्छ र दैनिक करीब ६० हजार विभिन्न खालका विचारहरू हाम्रो दिमागमा उत्पत्ति हुन्छन् । यी विचारहरू ४ प्रकारका हुन्छन्, जस्तैः व्यर्थ विचार, नकारात्मक विचार, सकारात्मक विचार र आवश्यक विचार । यी विचारहरूमा हामीले जुन विचारहरूलाई बढी ध्यान दिन्छौं, ती विचारहरूले नै हाम्रो जीवनको वास्तविकतालाई निर्धारण गर्दछन् । विचारले भावना उत्पन्न गर्दछ, भावनाले मनोवृत्ति, मनोवृत्तिले व्यवहार, व्यवहारले आदत र आदतले गन्तव्य वा भाग्य निर्धारण गर्दछ, त्यसकारण भाग्य वा गन्तव्य बदल्नुछ भने विचार बदल्न जरुरी हुन्छ ।

हाम्रा सोचहरूले नै हाम्रो जीवनको वास्तविकता निर्माण गर्दछन्, त्यसकारण यदि हामीले आफूसँग सकारात्मक संवाद गर्‍यौं भने सकारात्मक व्यक्तित्व बन्दछ र नकारात्मक सोच निर्माण गर्‍यौं भने नकारात्मक व्यक्तित्व बन्दछ । हामीले हाम्रो व्यक्तित्व सकारात्मक बनाउने कि नकारात्मक भन्ने कुराको जिम्मेवार स्वयम् हामी नै हौं ।

हाम्रो व्यक्तित्व निर्माणका इन्जिनीयर हामी स्वयम् हौं । निश्चित रूपमा हामीले सधैं अनुकूल र सकारात्मक वातावरण प्राप्त गर्न सक्दैनौं तर के त्यस्तो प्रतिकूल अवस्थामा पनि हामीमा सकारात्मक विचार उत्पन्न हुन सक्दछ ? बुझ्नुपर्ने कुरा के छ भने कुनै पनि परिस्थिति भनेको सकारात्मक र नकारात्मक अवस्थाको योगफल हो । अनुकूल परिस्थितिमा सकारात्मकता बढी हुन्छ भने प्रतिकूल अवस्थामा सकारात्मकता सुषुप्त अवस्थामा रहेको हुन्छ । यदि व्यक्तिले सकारात्मक मनोवाद गर्ने गरेको छ र सकारात्मकता हेर्ने बानी परेको छ भने त्यो सुषुप्त अवस्थामा रहेको सकारात्मकतालाई पहिचान गर्न सक्दछ र सकारात्मक सोचको विकास गर्न सक्दछ । यदि एक प्रसिद्ध भनाइ ‘सबै कुरामा सुन्दरता हुन्छ तर सबै आँखाले देख्न सक्दैैनन्’ लाई मनन् गर्ने हो भने सकारात्मकता खोज्नु आफैंमा एक कला र क्षमता भएकाले सकारात्मक सोच भएका व्यक्तिहरूको जीवन अरुको भन्दा फरक हुन्छ ।

हाम्रो सामाजिक वा आर्थिक अवस्था जेजस्तो भए पनि सबैमा आकर्षणको नियम लागू हुन्छ । जब हामीले आफ्नो स्वयंको बारेमा र अरुको बारेमा सकारात्मक सोच्दछौं र धारणा बनाउँदछौं, तब हामीले सकारात्मक वातावरण निर्माण गरिरहेका हुन्छौं तर जब हामी आफ्नो र अर्काको बारेमा नकारात्मक सोच्न थाल्दछौं, तब सबै वातावरण नकारात्मक हुन्छ र असफलता मात्रै हात लाग्दछ । स्मरणरहोस्, हामीले आफूलाई योग्य, दक्ष, सक्षम, सफल भएको सोच्न थाल्यौं भने हामी त्यस्तै हुन्छौं र यदि हामीले आफ्नो बारेमा आफूलाई असहाय, दुःखी, असफल, अल्छी भनेर सोच्न थाल्यौं भने त्यस्तै हुन्छौं । हामीले बुझ्नुपर्ने कुरा के छ भने यस ब्रह्माण्डमा धेरै फ्रिक्वेन्सीहरू हुन्छन् र हामीले जेजस्ता कुराहरू मनमा खेलाउँछौं, जस्तो सोच विकास गर्दछौं, त्यस्तै फ्रिक्वेन्सीसँग जोडिन थाल्दछौं र त्यस्तै वास्तविकता निर्माण गर्दछौं । हाम्रा सबै विचारहरू फ्रिक्वेन्सीहरू हुन् र सबै विचारहरू ब्रह्माण्डको विचारसँग जोडिन पुग्छन् । यदि हाम्रा वर्तमान विचारहरू र हाम्रो आफ्नै जीवनको भविष्यप्रतिको दृष्टिकोणको रूपमा रहेको सपना वा दूरदृष्टिका फ्रिक्वेन्सीहरू मिल्न थाले भने हाम्रो सपना साकार हुन थाल्दछ र जीवनमा सफलता हात लाग्दछ ।
जब हामीले पूरा विश्वासका साथ एक आकर्षक र सुन्दर सपना देख्न थाल्दछौं, तब त्यो सपना हाम्रो अर्धचेतन मनमा बस्दछ र सोही मुताविक हाम्रो सोचलाई निर्देशित गर्न थाल्दछ । यसरी हाम्रो वर्तमानको सोच र सपनाप्रतिको फ्रिक्वेन्सीहरू जोडिन थाल्दछन् । यहाँ आकर्षणको नियम लागू हुन्छ ।

हाम्रो जीवनमा आकर्षणका नियमले निकै महत्त्वपूर्ण भूमिका खेल्दछ र जीवनमा सकारात्मक रूपान्तरण ल्याउन निम्न कुराहरू गर्नै पर्दछ ।

१. आफ्ना सपनाप्रति स्पष्ट हुनुपर्छ र ब्रह्माण्डलाई आफ्नो सपनाको स्पष्ट जानकारी दिनुपर्छ ।

२. आफ्नो सपनाअनुसार सोच र आदतहरू निर्माण गर्नुपर्छ र त्यसका लागि आवश्यक लगानी गर्नुपर्छ ।

३. सपना साकार पार्न मद्दत पुग्ने अवसरहरू प्राप्त हुनासाथ काम गर्न थाल्नुपर्छ ।

४. आफ्नो सपनाप्रति विश्वासका साथ ध्यान दिनुपर्छ र कार्य, ध्यान र विश्वासबीच विश्वासिलो गठबन्धन निर्माण गर्नुपर्छ ।

५. आफ्नो सपना साकार भएपछि हाम्रो सोच, भावना, व्यवहारमा के कस्ता परिवर्तन आउन सक्छन् ? तिनको अनुमान गरेर सोही अनुसारको व्यवहार गर्न आजैबाट सुरु गर्नुपर्छ ।

६. प्रत्येक पटक सपना साकार भएको दृश्यावलोकन गर्नुपर्छ र यसरी दृश्यावलोकन गर्दा हाम्रो संवेग र भावनालाई जगाउँछ र सपना साकार पार्नका लागि काम गर्न अभिप्रेरित गर्दछ ।

आकर्षणको सिद्धान्तले आफ्नो संवेग, भावना र विश्वासलाई सपनासँग एकाकार गराएर र वास्तविकतामा परिणत गर्ने प्रक्रिया हो । यस प्रक्रियाले हामीभित्र रहेका धेरै प्रकारका शक्तिहरूलाई एकत्रित गरी कुनै एक कुरामा केन्द्रित गराएर त्यो कुरालाई आफूतिर आकर्षित गर्नु हो । जब हामी यसरी शक्तिलाई केन्द्रित गर्दछौं, तब हामीले आफूभित्र र वरिपरिको वातावरण राम्रो बनाउन सक्दछौं । व्यक्तिको विचार, भावना र विश्वासले पूरा जीवनलाई प्रभावित गर्दछ । व्यक्तिका विचार, भावना र विश्वासअनुसार नै वातावरणलाई आफूतिर आकर्षित गरिरहेका हुन्छौं । यदि हामीले हाम्रा विचार, संवेग, भावना र विश्वासलाई हाम्रो सपनासँग एकत्रित गर्न सक्यौं भने हामीले सपना साकार गर्ने कुराहरूलाई आकर्षित गर्न सक्दछौं र हाम्रा सपनाहरू साकार पार्न सक्दछौं ।

यस्तो कसरी हुन्छ ?

जब हामी बारम्बार आफ्नो सपनाप्रति विश्वास दोहोर्‍याउँछौ, तब सपना साकार हुने बाटोमा हुन्छ । यस पछाडि विज्ञानको नियमले काम गरिरहेको हुन्छ । जब हामी दिमागमा कुनै कुराको तस्वीर बनाउँछौं र बारम्बार त्यही कुरालाई दोहोर्‍याउँदा हाम्रो दिमागमा त्यससँग जोडिएर नयाँ न्युरोन पथ (स्नायु मार्ग) निर्माण हुन्छ, जसले गर्दा नयाँ सपनाप्रति हाम्रो विश्वास र स्पष्टता बढ्दै जान्छ । बिस्तारै–बिस्तारै हाम्रो संवेग र भावना पनि सपनासँगै जोडिन थाल्दछ भने स्नायुहरू बीचको सम्बन्ध एकदम मजबुत हुन्छ । यस प्रक्रियामा जति बढी दिमागमा गति निर्माण गर्न सक्दछौं, त्यति नै ज्यादा सपना साकार हुने आधार निर्माण हुन्छ । यही नै न्युरो प्लाष्टिसिटी पछाडिको विज्ञान हो ।

पहिलेको मान्यता के थियो भने मानिसले भौतिक अभ्यासद्वारा नै नयाँ न्यूरोन कनेक्सन बनाउन सक्दछ तर पछिल्ला अनुसन्धानहरूद्वारा के पत्ता लागेको छ भने हाम्रो दिमाग विशेषत अर्धचेतन मनलाई वास्तविकता र परिकल्पना बीचको फरक थाहा हुँदैन र बारम्बार परिकल्पना गरेर दृश्यवलोकन (भिजुलाइजेसन) गरेर दिमागमा नयाँ न्युरोन पथ निर्माण गर्न सक्दछौं र नयाँ सपना साकार भएको अनुभूति गर्न सक्दछौं । हुन त भिजुलाइजेसन गरेर मात्रै सपना साकार हुँदैन तर यस प्रक्रियाले के गर्दछ भने सपनाप्रतिको स्पष्टता र विश्वास अभिवृद्धि गर्दछ र दृढ भएर सपना साकारको बाटोमा अगाडि बढ्न अभिप्रेरित गर्दछ । यस प्रक्रियाले हाम्रो दिमागले कुन कुरालाई प्राथमिकतामा राख्नुपर्दछ भन्ने यकिन हुन्छ र प्राथमिकता अनुसार नै दिमागले सबै सूचनाहरू एकत्रित गर्दै लिन थाल्दछ र त्यहाँसम्म पुग्नका लागि नयाँ–नयाँ अवसरहरू देखाउँछ ।

हाम्रो अर्धचेतन र चेतन मनको बीचमा रिटिक्युलर सक्रिय प्रणाली हुन्छ र यसले अर्धचेतन र चेतन मनलाई नियन्त्रण गर्दछ । यो दिमागको एक प्रकारको अलगोरिदम हो । जब हामीले कुनै कुराको बारेमा अनुमान गर्दछौं र नयाँ कुराको सोच बनाउँछौं, तब पहिला ध्यान नदिइएका कुराहरू एकाएक देखिन थाल्दछ ।

उदाहरणका लागि हामीले कुनै ब्राण्डको गाडी किन्ने सोच बनायौं भने त्यहीँ बाटोमा हिँड्दा पहिला वास्ता नगरिएको गाडीको ब्राण्ड अब सयौं गाडी भीडमा पनि देख्न थालिन्छ । रिटिक्युलर सक्रिय प्रणालीले यसलाई प्राथमिकतामा राख्ने भएकाले यस्तो भएको हो । यसबाट के प्रष्ट हुन्छ भने जब हामी कुनै कुरा वा विचारप्रति सचेत हुन्छौं, तब यो कुरा बारम्बार देख्न थाल्दछौं । हाम्रा ५ वटा ज्ञानेन्द्रियमार्फत जति पनि सूचनाहरू हाम्रो दिमागमा पुग्दछन्, ९९ प्रतिशत जति सूचनाहरू हाम्रो चेतन मनले बहिष्कार गर्दछ । रिटिक्युलर सक्रिय प्रणालीले हाम्रो सपना साकार पार्न हामीलाई के कुरा जरुरी छ भन्ने सचेत गराउँदछ । रिटिक्युलर सक्रिय प्रणालीले समय सँगसँगै हाम्रा काम र व्यवहारलाई नियालिरहेको हुन्छ र त्यसकै आधारमा प्राथमिकताको सूची तयार गर्दछ र बारम्बार हाम्रो ध्यान तिनै कुराहरूमा केन्द्रित गराउन कोसिस गर्दछ ।

यसरी रिटिक्युलर सक्रिय प्रणालीले हाम्रो संवेग, भावना र विश्वासलाई सपनासँग एकाकार गराएर साकार गर्ने अवसरहरू सिर्जना गर्दछ । त्यसकारण हामी सबैले के बुझ्नुपर्छ भने हामी स्वयं नै हाम्रो भविष्य निर्माण गर्ने आर्किटेक्चर हौं । यदि सकारात्मक सोचका साथ हामी सकारात्मक सपनाप्रति प्रतिबद्ध भयौं भने आकर्षणको नियमले हामीलाई सफल बनाउँछ ।