आरडी बर्मन र आशा भोसलेको रोचक प्रेम किस्सा

आरडी बर्मन र आशा भोसलेको रोचक प्रेम किस्सा


एजेन्सी – भारतीय फिल्मको दुनियाँमा संगीतमा नयाँ आयाम दिने संगीतकार आरडी बर्मन अर्थात् राहुल देव बर्मनको आज जन्मजयन्ती हो ।

६० देखि ९० को दशकसम्म उनका गीत लोकप्रिय थिए । आज पनि उनको गीत सुन्न जोकोही चाहन्छन् । आरडीलाई सबैले मायाले ‘पञ्चम दा’ भनेर बोलाउँथे । उनले तीन सय बढी फिल्ममा संगीत दिए । उनलाई बलिउडको सफल संगीतकार मानिन्छ ।

उनले किशोर कुमार र आशा भोसले जस्ता गायक गायिकालाई ‘सुपरस्टार गायक गायिका’ बनाए । आरडी गायिका आशालाई मन पराउँथे र एकदिन उनले विवाहको प्रस्ताव राखे । आशा पनि आरडीलाई मनपराउँथिन्, तर विवाह प्रस्तावलाई अस्वीकार गरिन् । निकै लामो समयसम्म प्रेम र अस्वीकार चलिरह्यो र अन्ततः उनीहरु एकअर्काका भए ।

आरडीले दुई विवाह गरेका थिए । पहिलो विवाह रीता पटेलसँग भएको थियो, तर उनीसँग सम्बन्धविच्छेद भयो । आशाको पनि यो दोस्रो विवाह थियो । आशासँग आरडीको पहिलो भेट सन् १९७० मा भएको थियो । सम्बन्धविच्छेदपछि आरडी एक्लो थिए ।

यता आशाका पति गणपतरावको पनि सन् १९६६ मा निधन भएको थियो । दुवै एक्लाएक्लै भए पनि सांगीतिक सहकार्य जारी थियो । ‘पिया तू ब तो आजा’ र ‘दम मारो दम’ जस्ता गीतले आशालाई लोकप्रिय बनायो । यी दुवै गीतको कम्पोज आरडीले नै गरेका थिए ।

आरडी र आशा दुवैको जिन्दगीबाट जीवनसाथी अलग भएपछिको अनुभव र पीडा करिब करिब एउटै थियो, त्यहीकारण दुवैको बीचको प्रेम गहिरो थियो । आरडीले एकदिन आशालाई विवाहको प्रस्ताव गरे, तर आशाले यस कुरालाई अस्वीकार गरिन् । आरडी उमेरमा आशाभन्दा ५ वर्ष कान्छा थिए ।

तर, आशाले विवाह प्रस्ताव अस्वीकार गर्नुमा उमेर कारण थिएन । उनी पतिको निधनको शोकबाट बाहिर निस्किएकी थिइनन् । तर आरडी हार मान्ने अवस्थामा थिएनन् । जसोतसो उनले आशालाई विवाहका लागि राजी बनाए । यो काममा उनलाई लता मंगेशकरले सहयोग गरेकी थिइन् । अन्ततः उनीहरुले सन् १९८० मा विवाह गरे ।

आशा र आरडीको विवाहलाई लिएर अर्को एउटा रोचक किस्सा छ । जुन लता मंगेशकरसँग जोडिएको छ । लतासम्बन्धमा आरडीको जेठी सासु थिइन् । आरडी लतालाई ‘दिदी’ भनेर बोलाउँथे । लताले आरडीसँग सहकार्य गर्दै कैयौं सुपरहिट गीत दिए । लताले चैतन्य पादुकोणको पुस्तक ‘आरडी बरमनिया’मा आरडीसँगको सम्बन्धका बारेमा उल्लेख गरेकी छन् ।

‘जब आरडी र आशाको विवाह भयो, तब आरडीले मलाई ‘हामी तपाईंबाट कुनै महंगो उपहार चाहँदैनौं । यदि तपाईं दिन चाहनुहुन्छ भने मलाई एक वैवाहिक जीवनलाई सुन्दर बनाउनका लागि के के गर्नुपर्छ र के के गर्नुहुँदैन भन्ने कुराको परामर्श पत्र लेखेर दिनुहोस् भनेका थिए’, लताले भनेकी छन् ।

लताका अनुसार उनले दिएको त्यो पत्र आरडीले जिन्दगीभर सम्हालेर राखेका थिए । आरडीको ५४ वर्षको उमेरमा सन् १९९४ जनवरी ४ मा हृदयघातका कारण निधन भएको थियो ।