बेलायतका राजदूतले अध्यक्ष तिमिल्सिनालार्इ भेटेर भने ‘आगामी दिनमा विकासमा साझेदारी गर्न बेलायत इच्छुक’

बेलायतका राजदूतले अध्यक्ष तिमिल्सिनालार्इ भेटेर भने ‘आगामी दिनमा विकासमा साझेदारी गर्न बेलायत इच्छुक’


काठमाडौँ- राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसबीच शिष्टाचार भेटघाट भएको छ ।अध्यक्षको कार्यकक्षमा आज उनीहरुबीच भएको भेटमा दुई देशबीचको सम्बन्ध र बेलायती संसदीय प्रतिनिधिमण्डलले आइतबारदेखि गर्ने नेपाल भ्रमणबारे छलफल भएको हाे ।

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल र बेलायतबीचको कूटनीतिक सम्बन्ध र दुई देशबीचको साझेदारीबारेमा स्मरण गर्दै दुई देशका सरकार र जनस्तरमा सुमधुर सम्बन्ध रहेको र यो सम्बन्ध एकअर्काको स्वतन्त्रता, स्वाधीनता र परस्पर सहयोगमा आधारित रहँदै आएको बताए ।

बेलाबेलामा हुने उच्चस्तरीय भेटघाट नै दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाएको उल्लेख गर्दै उनले नेपालको संसद् र बेलायतको संसद्बीच पनि सुमधुर सम्बन्ध रहेको चर्चा गरे । अध्यक्ष तिमिल्सिनाले नेपालको संघीय संसद् दुई सदनात्मक रहेको हुँदा दुबैको भूमिकाबारे जानकारी गराउँदै बेलायती प्रतिनिधिमण्डलको नेपाल भ्रमणले दुई देशका सदनबारे अनुभव आदानप्रदान हुँदा दुवै पक्ष लाभावित हुने विश्वास व्यक्त गरे ।

‘दुई दिनपछि २३ वैशाखमा बेलायती संसदीय प्रतिनिधिमण्डलले नेपालको सद्भावना भ्रमण गर्दैछ भन्ने खबर प्राप्त भएको छ’, उनले भने, ‘यसले मलाई खुशी बनाएको छ र सोको तयारी सचिवालयले गरी रहेको छ, हामी उहाँहरुलाई स्वागत गर्न तत्पर छौँ ।’

अध्यक्ष तिमिल्सिनाले नेपालको भौतिक एवं आर्थिकलगायत विकासका हरेक आयाममा बेलायतको सहयोग उल्लेखनीय रहेको र यसप्रकारको सहयोग निरन्तर रहने नेपालको अपेक्षा रहेको बताउँदै ब्रिटिस गोर्खाले बेलायतको सेनामा रहेर गरेको योगदानले दुई देशको सम्बन्धलाई थप मजबुद बनाउन सहयोग गरेकाले सबै सेनालाई समान व्यवहार हुनुपर्ने धारणा राखे ।

भेटमा बेलायती राजदूत मोरिसले दुई देशको सम्बन्ध मजबुद बनाउन बेलायत तत्पर रहेको उल्लेख गर्दै आगामी दिनमा पनि विकासमा साझेदारी गर्न बेलायत तयार रहेको  भन्दै आइतबारदेखि हुने बेलायती प्रतिनिधिमण्डलको भ्रमणमा संसदीय अभ्यासबारेको अनुभव साटासाटले दुबै देशको सम्बन्ध थप मजबुद बनाउने विश्वास व्यत्त गरे ।