महिला विश्वकप क्रिकेट प्रतियोगिता भरतपुरमा खेलाउने इच्छा छ : रेनु दाहाल

महिला विश्वकप क्रिकेट प्रतियोगिता भरतपुरमा खेलाउने इच्छा छ : रेनु दाहाल


चितवन – भरतपुर महानगरपालिका प्रमुख (मेयर) रेनु दाहालले सन् २०२७ को यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलाउने इच्छा रहेको बताएकी छन् ।

शुक्रबार लोकतान्त्रिक खेलकुद संघले भरतपुरमा आयोजना गरेको मैयाँदेवी स्मृति यू–१९ प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख दाहालले नेपाल क्रिकेट संघ क्यानलाई आवश्यक वातावरण मिलाउन अनुरोध गरिन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ । जसअनुसार सन् २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशमा हुनेछ । त्यसअघि सन् २०२५ को प्रतियोगिता मलेसिया र थाइल्याण्डले आयोजना गर्नेछन् ।

मेयर दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी निर्माण कार्यका लागि माघ महिनाभित्रै ठेक्का आह्वान हुने स्पष्ट पारिन् । यसका लागि बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले केही दिनमा बजेट विनियोजन गर्ने पनि उल्लेख गरिन् ।

बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको साझेदारीमा १ अर्ब लगानीमा बाँकी निर्माण कार्य अगाडि बढाउने सम्झौता भएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासहित नेपालका ३ रंगशालाले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको छ ।

प्रमुख दाहालले भरतपुर महानगरपालिकाले खेलकुद क्षेत्रमा ठूलो लगानी गरेकाले खेल विधामा नेपालका ७५३ पालिकामध्ये प्रथम स्थान हासिल गरी पुरस्कृत भएको स्मरण गराइन् ।

यही गरिमालाई उचो पार्न भरतपुरमा दैनिक रूपमा खेल गतिविधिहरू हुने गरेका प्रमुख दाहालले बताइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले १ वर्षभित्र गौतम बुद्ध क्रिकेट रंगशालाका २ वटै मैदानमा खेल खेल्न मिल्ने गरी काम हुन लागेकोमा खुशी व्यक्त गरे ।

अध्यक्ष चन्दले अलपत्र रहेको रंगशालाको बाँकी निर्माण कार्यका लागि भरतपुर महानगर प्रमुख दाहालले लिएको नेतृत्वदायी भूमिकाको प्रशंसा गरेका छन् ।