सर्वाेच्चद्वारा रेशम चौधरीलाई रिहा गर्न अस्वीकार, कारागारमै रहने

सर्वाेच्चद्वारा रेशम चौधरीलाई रिहा गर्न अस्वीकार, कारागारमै रहने


काठमाडौं– टीकापुर घटनाका अभियुक्त निलम्बित सांसद रेशम चौधरी थुनामै रहने भएका छन्।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको सोमबारको संयुक्त इजलासले यअघि जिल्ला र उच्च अदालतको आदेशलाई नै सदर गरेपछि उनी थुनामै रहने भएका हुन्।

हालै मात्र सांसदको सपथ ग्रहण गरेका चौधरीले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत कैलालीको आदेश र त्यसलाई सदर गर्ने उच्च अदालत दिपालयको आदेश खारेजको माग गर्दै सर्वाेच्चमा रिट दायर गरेपनि सर्वाेच्चले अस्वीकार गरेको हो।

२ भदौ २०७२ मा टीकापुरमा भएको हिंसात्मक घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण नेउपानेसहित ८ जनाको ज्यान गएको थियो। घटना लगत्तै चौधरी फरार रहेपनि प्रहरीले उनीविरुद्ध मुद्दा चलाएकोमा गत मंसिरमा भएको निर्वाचनमा कैलाली १ बाट चुनाव लडेका थिए।

फरार रहेकै बेला निर्वाचित भएका चौधरीले जिल्ला अदालत कैलालीमा आत्मसर्मपण गरेकोमा उनी हाल डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा छन्।