नारायण ढुंगाना
काठमाडौं – चितवन, सौराहाका संरक्षणकर्मी एवं पर्यटन व्यवसायी शीरलाल परियारले आफ्नो ज्यानको बाजी थापेर गैंडाबाट पर्यटकलाई बचाउन सफल भएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जमा घुम्न गएका पर्यटकलाई बचाउनेक्रममा गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका परियारको अहिले काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । वन र वन्यजन्तुको संरक्षणसँगसँगै पर्यटकलाई निकुञ्ज घुमाएर वन्यजन्तु अवलोकन गराउनु उनको दशकौंदेखिको दैनिकी थियो ।
सौराहाको होटल पार्क साइडका सन्चालक परियार चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि पथप्रदर्शकसमेत हुन् । गएको शुक्रबार निकुञ्जमा अष्ट्रेलियाका ११ जना पर्यटकलाई घुमाउन लैजानेक्रममा नसोचेको परिणाम भोग्नुपर्यो । एक्कासि भेटिएको बच्चासहितको गैंडाले पर्यटकलाई आक्रमण गर्न आयो ।
परियारले आफ्नो ज्यानको बाजी थापेर पर्यटकलाई सकुशल फिर्ता गरे । तर, पर्यटकलाई जोगाउँदा आफू भने घाइते भएका छन् । गैंडासँग कसरी बच्ने भन्ने कला उनीसँग थियो । यसपटक धेरै पर्यटक भएकाले उनीहरुलाई बचाउनकै लागि गैंडासँग संघर्ष गर्नुपर्यो ।
ग्रान्डी अस्पतालमा उपचाररत् परियारले भने–‘बच्चासहितको गैंडाबाट बच्न मुस्किल पर्छ । तर, यसपालि पर्यटक बचाएर आफू पनि बाँच्न सफल भएँ । यो मेरो नयाँ जीवन हो ।’ बच्चा देखेपछि आक्रामक हुँदै गैंडा आयो । अब पर्यटकलाई मार्ने भयो भनेर उनले विभिन्न उपायसहित भुइँमा लठ्ठी बजारे । तर, गैंडा रोकिएन ।
रुखमा छेलिएर गैंडालाई धपाउन लाग्दा आफैं झाडीमा अल्झिएर लडेपछि गैंडाले आक्रमण गरेको परियार सम्झन्छन् । गैंडाले उनको पिँडुल्ला टोकेर गम्भीर घाइते बनाएको छ । छातीमा हान्यो भने एकैचोटी ज्यान जान्छ भनेर एक्कासि घोप्टो परेपछि अरु दुई पथप्रदर्शकको सहयोगमा गैंडाबाट बच्न सफल भएको उनको भनाइ छ ।
बच्चासहितको कुनैपनि जनावर देखिएमा सतर्क हुनुपर्ने सुझाव पनि उनको छ । तिघ्रा पछाडि सिङले हानेको छ । चितवनको भरतपुर अस्पतालमा शल्यक्रिया गरिएपनि घाउमा संक्रमण भएपछि उनलाई आइतबार ग्रान्डी अस्पतालमा भर्ना गरिएको छ ।
संक्रमण भएको सबै मासु निकालिएको र दुई दिनपछि पुनः शल्यक्रिया गर्ने तयारी गरिएको पत्नी सुशीला चौधरीले जानकारी दिइन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट जनधनको क्षति हुने गरेको छ । गैंडा, बाघ, चितुवा, भालु, हात्तीले बढी आक्रमण गर्छन् ।
प्रतिक्रिया