भीआईपी कक्षको दुरुपयोगः ठगी मुद्दाका आरोपीलाई मुस्लिम आयोगका अध्यक्षले भगाए

भीआईपी कक्षको दुरुपयोगः ठगी मुद्दाका आरोपीलाई मुस्लिम आयोगका अध्यक्षले भगाए


काठमाण्डु- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्षबाट फरार भएका अभियुक्तलाई मेरियट होटलबाट प्रहरीले पक्राउ गरेको छ । बिहान बिमानस्थलबाट प्रहरीले पक्राउ गर्ने तयारी गर्दा गर्दै भागेका रिजवान आलमलाई शुक्रबार राति नै मेरियट होटलबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

ठगी आरोपमा फरार सूचीमा रहेका सुनसरीका आलम शुक्रबार बिहान नेपाल आएका थिए । उनलाई मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले विमानस्थल भीआईपी कक्षको प्रयोग र आफ्नै गाडी दिएर भगाएका थिए ।

दुबईबाट आएका आलम पासपोर्ट समेत विमानस्थलमै छाडेर फरार भएका थिए । उनीविरुद्ध १ करोड ६८ लाख रुपैयाँ ठगीको आरोपमा जाहेरी दर्ता भएको थियो । जिल्ला अदालत काठमाण्डुले उनीविरुद्ध सोही कसुरमा पक्राउ पुर्जी पनि जारी गरेको थियो ।

दाउद हुसेनलाई ठगी गरेको मुद्दामा रिजवानविरुद्धको ठगी मुद्दा जिल्ला अदालत काठमाण्डुमा विचाराधीन छ । छोरालाई दुबईमा पाइलट पढाइदिने भन्दै उनले हुसेनसँग एक करोड ६८ लाख लिएका थिए । तर, पढाउने व्यवस्था पनि नगरेको र पैसा पनि फिर्ता नदिएपछि गत वर्ष १ कात्तिकमा उनले प्रहरी परिसर टेकुमा जाहेरी दिएका थिए ।

अदालतले उनीविरुद्ध गत फागुनमै पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ गर्न नसकेपछि प्रहरीले फरार अभियुक्तका रूपमा मुद्दा दायर गरेको थियो ।