कालीगण्डकी करिडोर ४ दिनदेखि बन्द

कालीगण्डकी करिडोर ४ दिनदेखि बन्द


बागलुङ – राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड ४ दिनदेखि ठप्प छ ।

बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडकको ट्रयाक नै बगाउँदा ४ दिनदेखि करिडोर ठप्प रहेको छ ।

पटक–पटक अवरुद्ध सडक २ हप्तापछि सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको १ हप्तापछि साउन ८ गते बिहानैबाट सडक अवरुद्ध भएको छ । सडकको ट्रयाक नै बगाएपछि सडक खुल्न नसकेको हो ।

वर्षा रोकिए पनि कालीगण्डकी करिडोर आयोजनाले सडक खुलाउन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

करिडोर सडक बागलुङ–१० स्थित दब्ल्याङमा सडकको ट्रयाक नै बगेकाले सडक खुल्ल समय लाग्ने भएको छ । पहिरोले बलेवा, कुश्मिसेरा र बरेङ सडक समेत ४ दिनदेखि अवरुद्ध बनाएको छ । पहिरोले बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएपछि यात्रुहरू पैदल हिँडेर आउजाउ गर्न बाध्य छन् ।