आत्महत्याका कारण र रोकथामका उपायहरू

आत्महत्याका कारण र रोकथामका उपायहरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कुनै घातक विधि अपनाएर आफूले आफ्नै ज्यान वा प्राण लिनु आत्महत्या हो । घातक विधि भन्नाले विष सेवन गर्नु, हतियार प्रयोग गर्नु, झुण्डिनु आदि पर्दछन् । नेपालमा बर्सेनि यस्ता कारणबाट धेरै मानिसले आत्महत्या गरेका हुन्छन् ।

नेपालमा सरदर प्रतिवर्ष ७ हजार मानिसले बर्सेनि आत्महत्या गरेको देखिन्छ । विस्तृत रूपमा हेर्दा विगत ३ आर्थिक वर्षको आत्महत्याको तथ्यांक यस्तो पाइन्छ –
आव २०७८/०७९ – ६८३० जना
आव २०७९/०८० – ६९९३ जना
आव २०८०/०८१ – ७२२१ जना

माथिको तथ्यांक हेर्दा प्रत्येक वर्ष आत्महत्याको दर बढ्दै गइरहेको छ । गत आव अर्थात् आव २०८०/०८१ को तथ्यांकलाई हेर्दा सबैभन्दा बढी झुण्डिएर आत्महत्या गरेको पाइन्छ । गत आवको आत्महत्याको दरलाई निम्न अनुसार प्रस्तुत गरिएको छ –

झुण्डिएर – ८५ प्रतिशत
विष खाएर – १३ प्रतिशत
हाम फालेर – ०.७ प्रतिशत
डुबेर – ०.६६ प्रतिशत
हातहतियार प्रयोग गरेर – ०.२५ प्रतिशत
आगो लगाएर – ०.०९ प्रतिशत
करेन्ट लगाएर – ०.०१ प्रतिशत

महिलाहरूमा आत्महत्याको सोचाइ धेरै आएको देखिए पनि आत्महत्या गर्ने पुरुषको संख्या महिलाको संख्याभन्दा दोब्बर देखिएको छ ।

मानिसहरू किन आत्महत्या गर्छन् ?

मानिसहरूले आत्महत्या गर्ने कारणहरू धेरै छन् । तर सबैभन्दा महत्त्वपूर्ण कारणका रूपमा डिप्रेसनलाई लिन सकिन्छ । लगभग ८० प्रतिशत आत्महत्याको कारण ‘डिप्रेसन’ हुने गर्दछ । त्यसैले समयमै डिप्रेसनलाई चिन्न सकेमा धेरै आत्महत्याका घटनाहरू रोक्न सकिन्छ ।

डिप्रेसनका प्रमुख ३ लक्षणहरूमा मन खुशी नहुने, रमाइलो लाग्ने कुराहरूमा पनि मन नलाग्ने र शरीर थकित महसूस हुने गर्दछ । अरु लक्षणहरूमा निद्रा नलाग्नु, खानामा रुचि नहुनु, कुनै कुराको पश्चाताप हुनु, आत्मविश्वास गुम्नु आदि पर्दछन् ।

डिप्रेसन किन हुन्छ ?

१) आर्थिक समस्या

अहिलेको कोभिडपछिको समयमा मानिसको आम्दानी घट्नु, बैंकको ऋण तिर्न नसक्नु, घर खर्च चलाउन नसक्नु लगायतका कारणले डिप्रेसन भएको पाइन्छ ।

२) पारिवारिक कलह

श्रीमान–श्रीमती, प्रेमी–प्रेमिकाको बीचमा कुरा नमिल्नु, झगडा भइरहनु, सम्बन्ध बिग्रेर जानु पनि डिप्रेसनको कारण हुनसक्छ ।

३) कडा रोगको शिकार हुनु

ब्रेन स्टोक, क्यान्सर जस्ता रोगले ग्रस्त भएमा पनि डिप्रेसन हुनसक्छ ।

४) सोचे जस्तो गर्न नसक्नु

परीक्षा वा कुनै काममा आफूले सोचे जस्तो गर्न नसक्नु वा अरुले त्यसको कदर नगर्नुले पनि डिप्रेसन गराउन सक्छ ।

स्क्रिजोफ्रेनिया, रक्सीको कुलत, एन्टोसोसियल, पर्सनालिटी डिस्अर्डर जस्ता रोगहरूमा पनि आत्महत्या गरेको देखिएको छ ।

कसैले आत्महत्या गर्दैछ भनेर कसरी थाहा पाउने ?

– कसैले आत्महत्या गर्छ कि गर्दैन भनेर पक्का भन्न त सकिँदैन तर कहिलेकाहीँ हामीले यस्ता संकेतहरू पाउन सक्छौं, जसलाई ध्यान दिन सके आत्महत्या रोक्न सकिन्छ ।

– यदि कसैले मलाई मर्न मन लागेको छ वा म आत्महत्या गर्छु भन्छ भने त्यसलाई हल्का रूपमा लिनु हुँदैन । उसलाई कुन समस्याले यस्तो भयो ? त्यो बुझ्ने कोसिस गर्नुपर्छ ।

– कोही परिवारभन्दा अलग बस्न थाल्यो, साना–साना कुरामा पनि रिसाउन थाल्यो, रुन थाल्यो भने पनि उसलाई केही समस्या छ भनेर बुझ्नुपर्छ ।

– कसैले सामाजिक सञ्जाल फेसबूक, टिकटकमा निराशाजनक अभिव्यक्तिहरू राख्छ भने पनि त्यसलाई ध्यान दिनुपर्छ ।

– हालसालै कठिन परिस्थितिबाट गुज्रिएको छ भने जस्तैः नजिकको मानिसको मृत्यु भएको वा आफूबाट टाढा भएको भए ।

– आफूलाई मनपर्ने कुराहरू पनि अरुलाई दिएको, पुराना कुराहरूमा क्षमा मागेको, इन्टरनेटमा मर्ने तरिकाहरूको बारेमा खोज गरेको र भविष्यको बारेमा कुनै पनि योजना नबनाएको छ भने पनि याद गर्नुपर्ने हुन्छ ।

के आत्महत्या रोक्न सकिन्छ ?

माथिका संकेतहरू बुझेर उपचारमा लागियो भने धेरै मात्रामा आत्महत्या रोक्न सकिन्छ ।

मनोचिकित्सकसँग भेट र मनोपरामर्श :

मनोचिकित्सक भन्नाले मानसिक रोग जस्तैः डिप्रसन, स्क्रिजोफ्रेनिया, रक्सी गाँजाको कुलत आदिको सही पहिचान र उपचार गर्न सक्ने विशेषज्ञ हुन् ।

मनोचिकित्सकले बिरामीको समस्याबारे बुझेर आवश्यक औषधिहरू र उचित परामर्श दिने काम गर्दछन् ।

मनोविद्ले पनि साइकोथेरापीको माध्यमबाट बिरामीको मनोवल उच्च गर्ने काम गर्दछन् । नेपाल सरकारले आत्महत्याको सोच आएमा त्यसमा आवश्यक मद्दत लिनका लागि एउटा निःशुल्क नम्बर उपलब्ध गराएको छ । पाटन मानसिक अस्पतालबाट सञ्चालित ११६६ नम्बरमा फोन गरेर समस्या कसरी समाधान गर्ने सल्लाह लिन सकिन्छ ।

मानसिक रोगहरूमा मानिसहरू अस्पताल जान नखोज्ने प्रवृत्ति पनि आत्महत्या वृद्धि हुने एउटा कारण हो । त्यसका लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी र अरु अस्पतालले पनि इन्टरनेटको प्रयोगबाट डाक्टरसँग भेट गर्न सक्ने प्रविधि भित्र्याएका छन् । यो पनि आत्महत्या कम गर्न सक्ने उपयुक्त विकल्प हुनसक्छ ।

(लेखक डा. पोख्रेल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल (धापासी) का नशा तथा मनोरोग विशेषज्ञ हुन् ।)