ती जोसिला रोनाल्डो, यी परिपक्व रोनाल्डो

ती जोसिला रोनाल्डो, यी परिपक्व रोनाल्डो


एजेन्सी – ‘ब्याक ह्वेयर आइ बिलङ’ फुटबल स्टार रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा आवद्ध भएपछि भनेको वाक्य हो, यो । म्यानचेस्टर युनाइटेड त्यही क्लब हो, जुन क्लब छाडेर उनले एक दशक अघि रियल म्याड्रिडको यात्रा तय गरेका थिए ।

एक दशकपछि उनले एक वर्ष थप हुनसक्ने विकल्पसहित दुई वर्षका लागि सम्झौता गरेका हुन् । उनले क्लबमा आवद्ध हुने बित्तिकै इन्स्टाग्राममा आफूले क्लबमा रहँदा गौरवपूर्ण दिन बिताएको स्मरण गर्दै टिमको प्रदर्शन सधैँ स्वर्णिम अक्षरले लेखिने प्रतिक्रिया दिए । उनले म्यानचेस्टर युनाइटेडसँग खेल्दा विपक्षी समर्थकबाट समेत पाएको प्रशंसाले भाव विभोर बनाएको पनि बताएका छन् ।

उनले सर एलेक्स फर्गुसनप्रति सधैँ उत्तिकै सम्मान र आदर भाव रहेको अभिव्यक्ति दिइसकेका छन् । सन् २००९ मा रियल म्याड्रिड जानुअघि रोनाल्डोले २९२ खेलमा ११८ गोल गरेका थिए । रेड डेभिल्सको परिचय बोकेको म्यानचेस्टरका वर्तमान प्रशिक्षक ओले गुनार सोल्सकजार त्यो समयका क्लबका स्टार रोनाल्डोको उपस्थितिले हर्षित छन् । उनले रोनाल्डो आकर्षक खेलाडी मात्र नभएर महान् व्यक्ति पनि भएको प्रतिक्रिया दिए । सोल्सकजारले भनेजस्तै यति लामो समयसम्म यस्तै उत्कृष्ट फर्म र लयमा रहेर खेल्नु साँच्चै कठिन काम हो, जुन काम रोनाल्डोले गरे ।

त्यसो त रोनाल्डोलाई म्यानचेस्टर सिटीले पनि सम्पर्क नगरेको होइन । उनले विगतमा ६ वर्ष बिताउँदा तीन पटक प्रिमियर लिग उपाधि, एक पटक च्याम्पियन्स लिग, दुई लिग कप, एक एफए कपका साथै फिफा क्लब विश्व कप र कम्युनिटी सिल्डको उपाधि जितेको टोली नै रोजे ।

लामो समयको अन्तरालमा मैदानमा ओर्लने क्लबले ११ सेप्टेम्बरमा घरेलु भूमिमा न्यु क्याशल युनाइटेडसँग खेल्ने छ ।

यो सिजनको सुरुवातमै स्टार खेलाडीलाई आफ्नो क्लबमा आवद्ध गराउन ’एक से एक’क्लब उत्तिकै आतुर थिए । १७ अगस्टका दिन रियल म्याड्रिड, पेरिस सेन्ट जर्मन र म्यानचेस्टर युनाइटेड यी महान् खेलाडीमा आवद्ध हुने चर्चा चलेको थियो ।

यो समाचारको आंशिक खण्डन गर्दै रियलका बोस कार्लो एन्सेलोटीले कुनै फरवार्ड अनुबन्ध गर्ने कुरामा प्राथमिकतामा नरहेको प्रतिक्रिया दिए । त्यसो त युभेन्ट्सका मेनेजर मासिमिलीयानो एलेग्रेनीले कुनै खेलाडी सिरिए खेलिसकेपछि छोड्नै नचाहने प्रतिक्रिया दिए ।

युभेन्ट्सले आफ्ना खेलाडीलाई रोनाल्डो बेच्ने इच्छा राखेको जानकारी दिनुअघि युडेनेसीसँगको लिगको पहिलो खेलमा रोनाल्डोलाई बेन्चमा राख्दै वैकल्पिक खेलाडीको रूपमा मैदानमा उतारेका थिए । यसबीचमा रोनाल्डोका एजेन्ट जर्ज मेन्ड्सले म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मन लगायत युरोपका ठूला शक्तिसँग सम्पर्क गरे ।

केही दिनपछि एलेग्रेनीले रोनाल्डोले क्लब छाड्ने इच्छा सार्वजनिक गरे । सिटीका प्रशिक्षक पेप गुवार्डीओलाले रोनाल्डो जस्ता महान् खेलाडीले आफूले चाहेको स्थान रोज्ने प्रतिक्रिया दिए ।

रोनाल्डोले क्लब छाडेके पुष्टि गर्दै युभेन्ट्सले संसारकै महान् खेलाडी २०१८ मा क्लबमा आएर एउटा उचाईँ दिएको र त्यो अध्यायको अन्त्य भएको प्रतिक्रिया दियो । क्लबले आफ्ना समर्थकले रोनाल्डो जहाँ गए पनि राजा जस्तो भएर प्रस्तुत भएको हेर्ने इच्छा भएको प्रतिक्रिया दिएका छन् ।

कीर्तिमानका खानी रोनाल्डोले सन् २००८, २०१३, २०१४, २०१६ र २०१७ मा बालोन डी ओर अवार्ड जितेका थिए । सन् २००८ मा म्यानचेस्टर युनाइटेडलाई च्याम्पियन्स लिग उपाधि दिलाएका उनले सन् २०१४, २०१६, २०१७ र २०१८ मा रियल म्याड्रिडलाई यो प्रतिष्ठित फुटबल प्रतियोगिताको उपाधि दिलाए ।

सन् २००७ देखि २००९ सम्म लगातार तीनपटक म्यानचेस्टर युनाइटेडलाई उपाधि दिलाएका उनले सन् २०१२ र सन् २०१७ रियल म्याड्रिड तथा सन् २०१९ र २०२० मा युभेन्ट्सलाई घरेलु लिगको उपाधि दिलाएका थिए ।

उनले यी तीन क्लबका साथै पोर्चुगलको राष्ट्रिय टोलीका साथै स्पोर्टिङ लिस्बनलाई समेत गरी आफू आवद्ध टोलीलाई ३२ पटक उपाधि दिलाएका थिए । उनले १७६ खेलमा १३४ च्याम्पियन्स लिग गोल गरेका छन् ।

रोनाल्डोको उदयसँगै पोर्चुगल फुटबल इतिहासमा महान् खेलाडी को ? भन्ने एउटा बहस सुरु भएको थियो ।

चौथो पटक बालोन डी ओर अवार्ड थापिसकेपछि, पछिल्ला चार वर्ष लगातार फिफा वर्ष खेलाडीको अवार्ड जितेका मेसीलाई पछि पार्दै अवार्ड खासेपछि रोनाल्डो निकै हर्षित देखिएका थिए । अवार्ड थापिसकेपछि आफ्ना लाखौँ‘ समर्थकतर्फ इङ्गित गर्दै रोनाल्डोले भनेका थिए, ‘इयुसिवियोसँग मेरो तुलना साँच्चिकै गर्विलो र अविश्वसनीय छ । ’

इयुसिवियो अर्थात् पोर्तुगिज फुटबलका हस्तीको निधन भएको त्यो समय महिना दिन पनि बितेको थिएन । मोजाम्बिकमा जन्मिएका इयुसिवियोले नै पोर्चुगललाई विश्व फुटबलमा परिचित गराएका थिए । सन् १९६६ को विश्वकपमा पोर्चुगललाई तेस्रो स्थान दिलाउने क्रममा उनले उत्तर कोरिया विरुद्ध क्वाटरफाइनलमा एक्लै चार गोल गरे ।

इयुसिवियो पुस्ताको अन्त्यपछि एकै पटक सन् २००६ को विश्वकपमा पोर्चुगललाई तेस्रो स्थान दिलाउने क्रममा तत्कालीन कप्तान लुइस फिगो र रोनाल्डोकै प्रदर्शन मुख्य थियो ।

२०१४ को विश्वकपमा पोर्चुगललाई प्रवेश गराउने क्रममा अन्तिम दुई खेलमा रोनाल्डोले निभाएको प्रदर्शनले त विगतका सबै इतिहासलाई बिर्साइदिएको थियो । अझै पनि यिसुबियो, लुइस फीगो र रोनाल्डो पोर्चुगलको फुटबल इतिहासकै सबैभन्दा ठूला सेलिब्रेटी मानिन्छन् ।

मायालु रोनाल्डो

तीनै पछिल्ला सेलिब्रेटी रोनाल्डोले एन्डोरिना नामक एम्योचर क्लबबाट आठ वर्षको उमेरमै फुटबल खेल्न सुरु गरेका थिए, जहाँ उनका बाबुले भर्खरै पियनको काम थालेका थिए । उनकी हजुरआमा अफ्रिकन थिइन् । बाबु मारिया डोलोरेस अमेरिकाका पूर्वराष्ट्रपति तथा अभिनेता रोनाल्ड रेगनका ठूलो फ्यान थिए । त्यसैले उनले आफ्नो छोराको नाम नै रोनाल्डो जुराए । मायालु अनुहारका रोनाल्डो अभिनेता नै बनुन् भन्ने चाहना बाबुको थियो ।

रोनाल्डोलाई आफ्ना दिदीहरू इल्मा र लिलियानाले निकै माया गर्थे । तर, उनको क्याथोलिक परिवारको आर्थिक अवस्था राम्रो थिएन । उनका दाजु तथा दुई दिदीसमेतलाई पाल्न परिवारले ठूलै संघर्ष गर्नुपरेको थियो । कोठामा दाजु हुगोसँगै सुत्ने रोनाल्डो खेलौना नपाएपछि भौतारिन्थे । खेल्नका लागि अरू कुनै खेलौना थिएन, त्यसैले फुटबल उनको बाल्यकालदेखिकै प्रिय थियो, किनकि जाबो बल त अरूसँग माग्न पनि सकिन्थ्यो ।

१० वर्षको उमेरमा उनले नासियोनल नामक स्थानीय क्लबसँग सम्झौता गरे । क्लबलाई उपाधि जिताइसकेपछि अर्को वर्ष स्पोर्टिङ सिपिले उनलाई ट्रायलमा बोलायो । त्यो त्यही क्लब थियो, जहाँबाट पोर्तुगिज फुटबलका आदर्श लुइस फिगोले खेलेका थिए । ट्रायल पास भइसकेपछि रोनाल्डो क्लबको युवा टिमका लागि छानिए ।

मास्टर कुट्ने रेनाल्डो

यति बेलासम्म स्थानीय स्तरमा रोनाल्डोको ख्याति बढी सकेको थियो । फुटबलबाट पाएको ख्यातिका कारण घरमा मात्रै होइन स्कुलमा समेत उनलाई माया गर्ने किशोरी बढेका थिए । किशोरीहरुसँगको बढ्दो हिमचिमकै कारण रोनाल्डोले पटक–पटक शिक्षकको कुटाइ भेट्नुपर्थ्यो । एक पटक आफ्नै शिक्षकलाई कुर्सीले हिर्काएपछि उनी निलम्बनमा पनि परेका थिए ।

पहिलो डेब्यु

स्पोर्टिङ सिपीमा राम्रो खेल्न थालेपछि १४ वर्षको उमेरबाट परिवारले उनलाई फुटबल मात्रै खेल्न छुट दिएको थियो । रोनाल्डोले सन् २००२ मा स्पोर्टिङ सिपीको सिनियर टिमबाट लिगमा डेब्यु गर्दै दुई गोल गरे ।

मोरिइरेन्स विरुद्धको उक्त खेल स्पोर्टिङले ३–० ले जितेको थियो । त्यसै वर्षको अन्त्यमा आर्सनलका प्रशिक्षक आर्सेन विंगरले उनलाई लन्डनमा बोलाएका थिए । तर, आर्सनलले उनलाई भित्र्याउन ढिलाइ गरिरहेको थियो । विंगरले ढिलाइको ठूलो मूल्य त्यति बेला चुकायो, जति बेला फर्गुसनले रोनाल्डोलाई म्यानचेस्टर युनाइटेडमा भित्र्याए ।

युनाइटेडलाई स्पोर्टिङले ३–१ ले हराएको खेलमा रोनाल्डोले जादु देखाएका थिए । त्यसपछि रायन गिग्स, रियो फर्निडान्ड लगायतका युनाइटेडका प्रमुख खेलाडीले रोनाल्डोलाई क्लब भित्र्याउन फर्गुसनलाई सुझाव दिए ।

रोनाल्डो जहाँ जन्मिए पनि विश्व फुटबलमा उनको दमदार उपस्थिति म्यानचेस्टर म्यानचेस्टरको प्रवेशसँगै सुरु भएको मानिन्छ । जहाँ क्लबले डेभिड बेकह्यामको अभाव महसुस गर्न परेन भने रोनाल्डोले फर्गुसन जस्तो माया गर्ने अभिभावक पाए ।

त्यसै क्लबमा दोस्रो स्पेलको सुरुवात गरेका उनमा पुरानो युवा जोस त छैन । तर, परिपक्वता छ । जोसिलो रोनाल्डोको पहिलो स्पेलभन्दा परिपक्व रोनाल्डोको रूपमा उनको यो दोस्रो स्पेल अझ सानदार पनि हुन सक्ने छ । –एजेन्सीको सहयोगमा