सगरमाथा आरोही पत्रकार बस्नेत सम्मानित

सगरमाथा आरोही पत्रकार बस्नेत सम्मानित


मोरङ– विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेवापत महिला पत्रकार रोशा बस्नेतलाई सम्मान गरिएको छ।

आठ हजार ८४८ मिटर अग्लो हिमालको सफल आरोहण गरी मोरङ जिल्ला तथा सुन्दरहरैँचा नगरपालिकाको झण्डा तथा नक्सालाई चुचुरोमा फहराएर देखाएको अदम्य साहसको प्रशंसा गर्दै सुन्दरहरैँचा नगरपालिकाले उनलाई सम्मान गरेको हो ।

सुन्दरहरैँचा नगरपालिकाद्वारा आज यहाँ आयोजित समारोहमा नगरप्रमुख शिवप्रसाद ढकालले खादा, माला तथा सम्मान पत्रबाट उनलाई सम्मान गरे।

मोरङ सुन्दरहरैँचा नगरपालिका¬–१० स्थित विराटचौककी २९ वर्षीया रोशा बस्नेत राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत पत्रकार हुन् । प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८ समूहका पाँच सदस्यमध्ये उनीसहित चार जनाले यसै वर्षको जेठ ९ गते सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।

सो अवसरमा नगरप्रमुख ढकालले प्रदेश नं १ कै गौरव तथा गरिमाका रुपमा रहेको सगरमाथाको यसै नगरकी चेली रोशा बस्नेतले सफल आरोहण गरेकाले आफूलगायत सम्पूर्ण नगरवासी गौरवान्वित भएको बताउँदै यो कार्यले नगरको गरिमा र पहिचान पनि थप उच्च भएको बताए।

यसैगरी नगर कार्यपालिका सदस्य भक्तकिरण राईले बस्नेत आरोहणमा जानुअघि ‘गर्विलो पहाड चढ्दैछौँ’ बोलको गीत गाएर बिदाइ गरेको स्मरण गर्दै आफूले गाएको गीतलाई सार्थक बनाएकामा हर्ष व्यक्तत गरे।

सम्मानित बस्नेतले आफ्नो नगरको पर्यटन क्षेत्रको प्रवद्र्धनसँगै महिला सशक्तीकरण र युवा जागरणको क्षेत्रमा समेत कार्य गर्ने प्रतिवद्धता व्यक्त गरिन।

सगरमाथाबाट ल्याएको एक सानो पत्थर र नगरपालिकाबाट आरोहणमा जानुअघि बस्नेतलाई दिइएको झण्डा र नगरपालिकाको नक्सा चुचुरोमा फहराएपश्चात् कोसेलीस्वरुप उनले नगरप्रमुखलाई हस्तान्तरण पनि गरिन।

पत्रकार महासङ्घको ब्यानरमा आरोहण गरेका पत्रकार महिलाको आरोहणको मूल नारा ‘समानताको लागि बुलन्द आवाज’ भन्ने थियो । रासस