काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले अराजक गतिविधि गरेको भन्दै देशलाई अहिलेको अवस्थामा पुर्याउने काम स्वयं वर्तमान प्रधानमन्त्रीले गरेको उनले आरोप लगाए ।
लाखौं युवालाई विदेश जान बाध्य पार्ने, देशका भौतिक संरचना ध्वस्त पारेर मुलुकलाई विश्वको गरीब देश बनाउने मुख्य पात्र वर्तमान प्रधानमन्त्री भएको उनले बताए ।
‘आजको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ । प्रधानमन्त्रीमा जुन अराजकता छ, लामो समयदेखि देशलाई यो अवस्थामा पुर्याउने र आज यो मुलुकलाई, हजारौं, लाखौं युवालाई विदेश जान बाध्य पार्ने, देशका भौतिक संरचना ध्वस्त पारेर मुलुकलाई विश्वको गरीब देश बनाउनेभित्र यसको मुख्य नेतृत्व नै अहिलेको प्रधानमन्त्रीले गर्नुभएको हो । प्रधानमन्त्री कुनै पनि हिसाबले अहिले पनि नेपाल जस्तो शान्ति देश नभएको भए, बाहिर भए उहाँ राजनीतिक व्यक्ति नै होइन । उहाँ आपराधिक पृष्ठभुमिबाट आउनुभएको हो,’ उनले भने ।
सरकारमा जाने/नजानेबारे निर्णय नगरेको उनले बताए । संविधान संशोधनका लागि हुने सहमतिले सरकारमा जाने/नजाने भर पर्ने उनले बताए ।
प्रतिक्रिया