हिन्दूराष्ट्र स्थापनामा पूर्व सुरक्षाकर्मीको प्राविधिक ज्ञान र सीप निर्णायक हुनेछ : महामन्त्री राणा

हिन्दूराष्ट्र स्थापनामा पूर्व सुरक्षाकर्मीको प्राविधिक ज्ञान र सीप निर्णायक हुनेछ : महामन्त्री राणा


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री डा. धवलशम्सेर राणाले राष्ट्र निर्माण र राष्ट्रियताको जगेर्नामा भूतपूर्व सुरक्षाकर्मीहरूको भूमिका महत्त्वपूर्ण रहने बताएका छन् ।

राप्रपाको आन्दोलनमा समेत अवकाशप्राप्त सैनिकहरूको अनुभव, ज्ञान र सीप निर्णायक रहनेमा जोड दिएका छन् ।

‘पूर्व सुरक्षाकर्मीहरू देशका खम्बा हुन् । यही यथार्थलाई मनन् गर्दै पार्टीले सञ्चालन गरेको आन्दोलनमा पूर्व सुरक्षाकर्मीहरूको सक्रिय र सिर्जनशील योगदान हामीले आश गरेका छौं । विकृति र विसंगति अन्त्य गरेर देश र समाजलाई सही बाटोमा ल्याउन राप्रपाले आन्दोलन जारी राखेको छ,’ राप्रपाका महामन्त्री तथा संगठन विभाग प्रमुख राणाले शनिबार भने ।

‘राजसंस्था र हिन्दूराष्ट्र स्थापना गर्ने आन्दोलनमा पूर्व सुरक्षाकर्मीहरूको प्राविधिक ज्ञान र सीप निर्णायक हुनेमा दुईमत छैन । पात्र र प्रणाली दुवै असफल भएको सन्दर्भमा सेवानिवृत सुरक्षाकर्मीको निष्ठा र इमान्दारीले दुरगामी महत्त्व राख्नेछ,’ उनले भने ।

राप्रपा केन्द्रीय कार्यालयमा राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनद्वारा आयोजित कार्यक्रममा नेपाली सेनाका ३ जना अवकाशप्राप्त मेजरसहित १५ जनाले पार्टी प्रवेश गरेका थिए । राप्रपामा प्रवेश गर्नेहरूमा अप्रा मेजर शंकर श्रेष्ठ, अप्रा मेजर प्रकाश गुरुङ, अप्रा मेजर तारा खत्री लगायत मोहनबहादुर अधिकारी, कृष्णबहादुर श्रेष्ठ, बालकृष्ण ढकाल, माधव सिग्देल, उपेन्द्र कुँवर, राजाराम थापा, गणेश थापा, पदम क्षेत्री, प्रविण धरेल र कृष्णबहादुर तामाङ थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका महामन्त्री तथा सचिवालय प्रमुख राजेन्द्र गुरुङले देशले परिवर्तन मागेको र यो परिवेशमा पूर्व सुरक्षाकर्मीको भूमिका महत्त्वपूर्ण रहने बताए ।

एकपटकको सैनिक सदाका लागि सैनिक हुने बताउँदै राप्रपासम्वद्ध सैनिक संगठन अध्यक्ष प्रकाशजंग कार्कीले राष्ट्र, धर्म र संस्कृतिको पक्षमा सदैव संघर्षशील रहने बताए । ‘सेवामा होस् वा सेवा निवृत्त भएको अवस्थामा, सेनाको मुट र मनमा सत्यको बास हुन्छ । यस अर्थमा माटोको रक्षामा हामी सदा लडिरहने छौं,’ उनले भने ।